News

Jan 2, 2009

राजधानीमा लगातार विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुससुन्धाराको काठमाडौं मलअगाडि बिहीबार मध्याह्न बम विस्फोट भएको छ । विस्फोटमा परी एक भारतीय नागरिक घाइते भएका छन् । भारत बिहारका १६ वर्षीय विमलकुमार गुप्ताको वीर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार अज्ञात समूहले कालो प्लास्टिकमा छोडेको बम विस्फोट भएको थियो । विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेका सातैजना महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।विस्फोट तराईकेन्दि्रत हिंसात्मक गतिविधि गर्दै आएको रणवीर सेनाले गराएको प्रहरीले बताएको छ । भूमिगत संगठन रणवीर सेनाले पाँच दिनभित्र उपत्यकामा गराएको यो तेस्रो विस्फोट हो । शनिबारबाट उसले उपत्यकामा विस्फोटको शृंखला सुरु गरेको थियो । शनिबार बिहान १०:१५ मा त्रिभुवन विमानस्थलको गेटअगाडि रणवीर सेनाले पहिलो विस्फोट गराएको थियो । सो विस्फोटमा बालाजुनिवासी सुष्मा श्रेष्ठ सामान्य घाइते भएकी थिइन् । सोही सेनाले आइतबार बिहान ६:४५ मा दरबार हाइस्कुलअगाडि सुतली बम पड्काएको थियो । काठमाडौं परिसर प्रमुख नवराज सिलवालले मानवीय क्षतिभन्दा पनि जनजीवन आतंकित बनाएर चर्चा बटुल्न रणवीर सेना क्रियाशील भएको बताएका छन् । उनले भने, 'उनीहरूको टार्गेट सानोसानो स्केलमा विस्फोट गराएर आफ्नो प्रचार गराउनु देखिएको छ ।'रणवीर सेनाले हिन्दू अधिराज्यको माग गर्दै सशस्त्र संघर्षको घोषणा गरेको छ । रणवीर सेनाले संविधानसभा चुनावलगत्तै उपत्यकामा हिंसात्मक गतिविधिलाई तीव्रता दिए पनि आठ महिनादेखि यो संगठन निष्त्रिmय बनेको थियो । रणवीर सेनाले नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको निवास, जमल, रत्नपार्क, नयाँबानेश्वर क्षेत्रमा पटकपटक बम विस्फोट गराइसकेको छ । उपत्यकामा बम विस्फोटको घटना तीव्र भएपछि प्रहरी रणवीर सेनाको खोजीमा सक्रिय भएको छ । तर, उसले अहिलेसम्म रणवीर सेनासँग सम्बद्ध कसैलाई पक्राउ भने गर्न सकेको छैन । सिलवालले रणवीर सेनाका व्यक्तिको खोजीका लागि इन्टेलिजेन्सलाई सक्रिय बनाएर सूचना संकलन गरिरहेको बताए । सुरक्षा स्रोतका अनुसार रणवीर सेनाका प्रमुख भैरव सिंह हुन् । भारतको विहारमा रणवीर सेनाको नाममा भूमिपतिहरूको व्यक्तिगत सेना क्रियाशील छ । सो सेनाले आफ्नो मुख्य तारो भारतीय माओवादीलाई बनाउँदै आएको छ । भारतीय माओवादीहरूले व्यक्तिगत जग्गा कब्जा गर्न थालेपछि विहारको अगदी जातिले १९९४ मा यो सेना निर्माण गरेको थियो । नेपालमा क्रियाशील रहेको रणवीर सेना विहारमै क्रियाशील रणवीर सेना नै रहेको सुरक्षास्रोतको दाबी छ । एसपी सिलवालले भने विहारमा क्रियाशील रणवीर सेना र नेपालमा क्रियाशील एकै हुन् या होइनन् अहिले नै ठोकुवा गर्न नसकिने बताए । विस्फोटको घटनामा तीव्रता आएपछि उपत्यकामा शनिबार बेलुकाबाटै प्रहरी सक्रियता बढाइएको छ । अपराधी लज तथा होटलमा लुकेको आशंकामा प्रहरीले छापा मार्ने क्रमलाई समेत तीव्र बनाएको सिलवालले बताए ।

No comments: