News

Jan 2, 2009

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ पुस,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो रहेको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । विमानस्थल सुधारका लागि तत्काल कदम चाल्न अख्तियारले सरकारलाई कडा निर्देशन दिएको छ । अख्तियारले विमानस्थलको अवस्थाका बारेमा अध्ययनका लागि एक महिनाअघि कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदनले विमानस्थल भद्रगोल अवस्थामा रहेको औंल्याएको छ । प्रतिवेदनका अनुसार विमानस्थलमा राहदानी सक्कली भए-नभएको जाँच्ने उपकरणसमेत प्रयोगमा छैन । आयोगका कामु प्रमुख आयुक्त ललितबहादुर लिम्बूले राहदानी परीक्षण नहुने भएकाले विमानस्थलबाट कुख्यात आतंककारीसमेत सजिलै नेपाल प्रवेश गर्न सक्ने बताए ।उनले भने, 'देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यति भ्रद्रगोल हुन्छ भनेर कल्पनासमेत गर्न सकिँदैन ।'अख्तियारले बिहीबार रक्षा, परराष्ट्र, गृहलगायत मन्त्रालयका सचिवलाई बोलाएर सुधारका लागि निर्देशन दिएको छ । एक महिनाभित्र सुधार नभए सम्बन्धित अधिकारीमाथि कारबाही गर्नेसमेत अख्तियारले जनाएको छ । सचिवहरूलाई लिम्बूले भने, 'जसले गल्ती गरेको छ त्यसलाई अख्तियारले कारबाही गर्छ । अब बहाना बनाई हात खुम्चाएर बस्न कोही पनि पाउँदैन ।' एक महिनापछि विमानस्थल सुधारमा भएको प्रगतिको बारेमा फेरि अनुसन्धान गर्ने उनले जानकारी गराए । कार्यक्रममा निम्ताइए पनि श्रम-सचिव भने अनुपस्थित रहे । अख्तियारले शुक्रबार उनलाई फेरि डाकेको छ । अख्तियारको प्रतिवेदनका अनुसार विमानस्थलमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । शौचालय फोहोर भएर जानै नसक्ने अवस्थामा छ । लुगाभत्ता पाउने धेरै कर्मचारी अनौपचारिक लुगा लगाएर विमानस्थलमा जाने गरेको देखिएको छ । धेरै कर्मचारीले आफ्नो परिचय खुलाउने कार्डसमेत लगाउँदैनन् । त्रिभुवन विमानस्थलमा दैनिक १९ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् । सातामा सोमबार, बिहीबार र शनिबार सबैभन्दा बढी भीडभाड हुन्छ । तर, विमानस्थलमा यात्रुहरूलाई ट्रलीको सुविधासमेत पर्याप्त छैन । यात्रुले ट्रली नपाएर पसिना चुहाउँदै ब्याग बोकेर ओहोरदोहोर गर्नुपरेको प्रमुख आयुक्त लिम्बू बताउँछन् । विमानस्थलमा अहिले नाम मात्रका दुई सय ट्रली छन् । धेरैको चक्का खुस्किएर गुडाउन नमिल्ने अवस्थामा छन् । विमानस्थलमा सुरक्षका लागि ३० वटा सिसिटिभी जडान गरिएको छ । तर, पाँच सिसिटिभी काम गर्न छाडिसकेका छन् भने काम गर्ने टिभीको समेत राम्ररी सदुपयोग हुन सकेको छैन । विमानस्थलको मुख्य द्वार तथा प्रस्थान र आगमन कक्षजस्ता यात्रुको अति भीड हुने ठाउँमा सिसिटिभी राखिएको छैन । प्रतिवेदनका अनुसार यात्रुले बोक्ने झोलाको विद्युतीय चेकजाच गर्ने मेसिनसमेत काम नगर्ने अवस्थामा छ । अध्यागमन विभागले विमानस्थलमा राखेका २२ डेक्सले प्रभावकारी रूपमा काम गर्न नसकेको प्रतिवेदनले औंल्याएको छ । विमानस्थलमा रहेका धेरै कम्प्युटरले लामो समयदेखि काम गर्न छाडिसकेका छन् ।विमानस्थलको प्रस्थान र आगमन हलमा फोहोरको व्यवस्थापन हुन सकेको छैन । कर्मचारीको लापरबाहीका कारण अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुको राहदानीमा आगमनको छापसमेत नलगाउने गरिएको अनुसन्धानले देखाएको छ ।विमानस्थल आर्थिक अनियमिता र भ्रष्टाचारको अखडा भएको भन्दै अख्तियारले पाइला-पाइलमा पैसा असुल्ने काम हुने गरेको औंल्याएको छ । विमानस्थलमा रहेका ट्याक्सी प्रयोग गर्दा यात्रु ठगिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

No comments: