News

Feb 3, 2012

कानुन सचिवले गाडी खोसेर चढे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २० - कानुन तथा न्याय मन्त्रालयका सचिव भेषराज शर्माले कानुन किताब व्यवस्था समितिको नयाँ गाडी अनधिकृत रूपमा खोसेर चढ्न थालेका छन् । शर्माले मन्त्रालयले दिएको आफ्नो गाडी थोत्रो भएको दाबी गर्दै बिना हैसियत स्वायत्त निकायको बा ९ च ४६६५ नं. को कार लगेर चढ्न थालेका हुन् । समितिले आफ्ना सदस्यसचिव तोया अधिकारी र कामु मुख्य निर्देशक रामबहादुर बस्नेतलाई कार्यालय आउजाउ प्रयोजनका लागि दुई साताअघि हुन्डाईको आईटेन कार खरिद गरेको थियो । जसका लागि खरिद गरिएको हो, उनीहरूले चढ्न नपाउँदै कानुन सचिव शर्माले आफ्नो मन्त्रालय मातहतको समितिको गाडी जबर्जस्ती लगेका हुन् । समिति कानुन किताबको प्रकाशन र बिक्री तथा सरकारी दस्तावेज अनुवाद र प्रमाणीकरणका माध्यमबाट हुने आफ्नै आम्दानीमा सञ्चालित हुँदै आएको छ, यसमा सरकारी अनुदान छैन । कानुन सचिवले समितिको पदेन अध्यक्ष भएको प्रभावमा उक्त गाडी लगेको र त्यही कारण समितिका सदस्यसचिव र कामु मुख्य निर्देशक बोल्न नसकेको स्रोतले उल्लेख गरेको छ । पदेन अध्यक्षले समितिबाट गाडी पाउने कुनै व्यवस्था छैन र यसअघिका कुनै पनि कानुन सचिव कसैले पनि समितिको गाडी चढ्ने गरेका थिएनन् ।

माओवादी नेताहरुको मुद्धा भारतको पटना अदालतद्वारा खारेज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली माओवादी नेतामाथि विगत आठ वर्षदेखि भारतमा चल्दै आएको मुद्धा फिर्ता भएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयको आग्रहमा सरकारले ती नेपाली माओवादी नेताहरु विरुद्धको मुद्धा फिर्ता लिने भएको हो । भारतको विहार राज्यस्थित पटना जिल्ला अदालतले ११ माओवादी नेताविरुद्ध ८ वर्षदेखि चल्दै आएको मुद्धा खारेज भएको हो । बिहारस्थित पटना जिल्ला अदालतमा नेपाली माओवादी नेताहरु चित्रबहादुर श्रेष्ठ, लोकेन्द्र बिष्ट, कुलबहादुर केसी, कुमार दाहाल, हीतबहादुर तामाङ, अनिल शर्मा, दीलिप महर्जन, रन्जु थापा, सुमन तामाङ, श्यामकिशोर प्रसाद यादव र मीन प्रसादको बिरुद्धमा भारतबिरुद्ध गतिविधि गरेको लगायतका अभियोगमा मुद्दा चलिरहेको थियो । एडिसनल जिल्ला न्यायाधिस बारिष्ठ नारायण सिंहले राज्य सरकारद्वारा मुद्धा फिर्ता लिन गरेको निवेदनमा सुनुवाई गर्दै अभियोग खारेज गरिएको त्यहाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Feb 2, 2012

लिम्बुवानको दक्षिणी सिमाना जोगवनीदेखि विजयपुरसम्म रोडमार्च हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
विराटनगर, मावारोङ, लिम्बुवान माघ १८, २०६८,संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ''लिम्बुवान स्वायत्त राज्य'' घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते दिनको १:०० बजेदेखि लिम्बुवानको दक्षिणी सिमाना विराटनगर रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान मार्च पास कार्यक्रम सुरु गरेको छ । मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा माघ १८ गते मिल्स, रानी विराटनगर, मावारोङबाट जारी गरिएको प्रेस-विज्ञप्तिमा उल्लेख भएनुसार सो दिनको मार्च पास टोली दुहबीमा पुगेर विश्राम गर्नेछ र अर्को दिन १९ गते बिहान ८:०० बजेदेखि दोस्रो दिनको मार्च पास कार्यक्रम सुरु हुनेछ ।
परिषदका केन्द्रीय अध्यक्षलगायत केन्द्रीय नेताहरूले नेतृत्व गर्ने यो लिम्बुवान मार्च पास कार्यक्रमलाई लिम्बुवानमा भइरहेको शान्तिपूर्ण तर सशक्त आन्दोलनको अर्को उत्कर्षरुपमा लिइएको छ । यस लिम्बुवान मार्चले लिम्बुवानको दक्षिणी सिमा र त्यहाँ रहेको भूभाग झापा, मोरङ र सुनसरीलाई ऐतिहासिक लिम्बुवान स्वायत्त राज्यमै कायम गराउन थप दवाब दिनेछ । साथै, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, स्वायत्तता र आत्मनिर्णयको अधिकारजस्ता आदिवासी जनजाति लगायततका जनताहरुको अधिकारलाई कुण्ठित गर्ने षडयन्त्र भएमा जस्तोसुकै त्याग गर्न पनि लिम्बुवानी जनताहरु तयार रहेको सन्देश यस लिम्बुवान रोडमार्चले दिनेछ । यसका साथै, लिम्बुवानी नेतृत्व र कार्यकर्ताहरुमा यस लिम्बुवान मार्च पासले अझ सङगठित, प्रतिवद्ध र जुझारु भई लिम्बुवान आन्दोलनमा निरन्तर लागिरहन अभ्यास गराउने समेत अपेक्षा गरिएको छ ।
यही विज्ञप्तिमा, माघ १७ गते राज्य पुनर्संरचना समितिको बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा लिम्बुवान राज्यको नामकरण भएकोप्रति परिषदले स्वागत गरेको छ । तर, लिम्बुवानको ऐतिहासिक सिमाना सङ्खुवासभा, धनकुटा, झापा, मोरङ र सुनसरीमा सिमाना खुम्चयाएर, मिचेर अन्य राज्यहरू प्रस्ताव गरेकोप्रति परिषदले घोर आपत्ति प्रकट गरेको छ । सोही विज्ञप्तिमा थप भनिएको छ- ''यसरी लिम्बुवानको ऐतिहासिक सिमाना खुम्च्याउन पाइँदैन । र, अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य कायम गरियोस् भनी यस परिषदले निरन्तर आन्दोलन अघि बढाउने जानकारी यसै प्रेस-विज्ञप्तिमार्फ् र्सार्वजनिक गर्दछौं ।'

चितवन टुक्र्याउने सुझावविरुद्ध दलहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भरतपुर, माघ १९ - राज्य पुनर्संरचना आयोगले संघ बनाउँदा चितवनलाई विभाजन गर्न सुझाव पेस गरेपछि स्थानीय राजनीतिक दलहरू र सर्वसाधारण आक्रोशित बनेका छन् । जिल्ला टुक्र्याउने र विभिन्न प्रदेशमा गाभ्ने भनी आयोगका बहुमत सदस्यले दिएको सुझाव कुनै हालतमा मान्य नहुने तिनले बताए । माओवादी कार्यालयमा बुधबार बसेको पाँच दल प्रमुखको बैठकले सुझावप्रति खेद प्रकट गरेको छ । बैठकमा माओवादी इञ्चार्ज अनिल शर्मा, कांग्रेस सभापति विकास कोइराला, एमाले अध्यक्ष कृष्ण खनाल, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना र राप्रपाका अध्यक्ष रामहरि कँडेल सहभागी थिए । चितवन समारिक, भौगोलिक, सांस्कृतिक, मनोवैज्ञानिक र आर्थिक रूपले तमुवान, ताम्सालिङ, थारूवान या मधेस प्रदेशसँग गाभ्न उपयुक्त नरहेको निष्कर्ष दलहरूले निकालेका छन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा अन्यायपूर्ण, जनभावना विरोधी, अवस्तुवादी प्रतिवेदनप्रति खेद व्यक्त गर्दै सुझाव फिर्ता लिन अनुरोध गरिएको छ ।
'चितवन र सेरोफेरो समेटेर जनताले नारायणी स्वायत्त प्रदेश माग गर्दै आएका छन्,' विज्ञप्तिमा छ, 'त्यसैले अन्य प्रदेशमा गाभ्नु उचित हुँदैन ।' बैठकले सुझावविरुद्ध संघर्षमा उत्रिन जिल्ला र आसपासका बासिन्दालाई आह्वान गरेको छ । माओवादी इञ्चार्ज शर्माको अध्यक्षतामा जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । जिल्ला विभाजन गर्न दिइएको सुझाव सञ्चार माध्यममार्फत थाहा पाएपछि बुधबार जिल्लावासी आक्रोशित बनेका छन् । नारायणगढमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले भेला गरी सुझावको विरोध गरे । चिया पसलदेखि चोक/चोकमा दिनभर विभाजनबारे नै चर्चा चल्यो । 'समाचार पढेपछि पत्रिका नै च्यातांै जस्तो लाग्यो,' चौबिसकोठीस्थित महालक्ष्मी मिष्ठान्नमा खाजा खान आएका एक व्यापारीले भने, 'आन्दोलनमा उत्रने बेला भो ।'

फुटवलमा भिडन्त हुँदा ७४ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोर्ट सइद, माघ १९ (एजेन्सी) - यहाँ आयोजित एक फुटबल म्याचमा समर्थकहरुबीचको भिडन्तमा ७४ जनाको ज्यान गएको छ। घटनामा परी हजार भन्दा बढी घाइते भएका छन्। अल मासरी र अल अह्ले क्लबका समर्थकबीच यस्तो भिडन्त भएको थियो। खेल अल मासरीले ३-१ ले जित्यो। खेल सकिन नपाउँदै अल मासरीका समर्थक चौरमा आए र अह्लेका खेलाडीमाथि आक्रमण थाले। इजिप्टको फुटबल इतिहासको यो सबैभन्दा ठूलो दुर्घटना मानिएको छ। झडपमा परी केही सुरक्षाकर्मीसमेत मारिएका छन्।

एमालेले जातीय संघीयता स्वीर्कादैनः उपाध्यक्ष भण्डारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १९ - एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जात विशेषको अग्राधिकार र नामांकनसहितको जातीय संघियता आफ्नो पार्टीले स्वीकार नगर्ने बताएकी छिन् । जातीय संघियताले साम्प्रदायिक द्वन्द्व निम्त्याउने दाबी गर्दै उनले भनिन्, 'बेलैमा बुद्धि पुर्याइएन भने देश जातीय युद्धतर्फ जान्छ ।' संक्रमणकाल लम्बिदा राजनीतिक पार्टीहरुभित्र पनि जातीय तथा साम्प्रदायिक भड्काउहरु आएको उपाध्यक्ष भण्डारीले दाबी गरिन् । संविधानसभा ककस पार्टीहरुका लागि सकस भईसकेको उनले बताईन् । उनको भनाई आदिवासी जनजाति सभासद् सभा (ककस) प्रति लक्षित थियो ।

ग्यास ओसार्ने गाडी नियन्त्रणमा लिएर बाँडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १९- लामो समयदेखि खाना पकाउने ग्यास नपाएर आजित सर्वसाधारणले सिलिन्डर ओसार्ने गाडी नै नियन्त्रणमा लिन थालेका छन्। हिमाल ग्यासका सिलिन्डर बोकेर बनेपाबाट काठमाडौं आउँदै गरेका तीन टि्रप गाडी बुधबार बिहान भक्तपुर सल्लाघारीका स्थानीयले नियन्त्रणमा लिए। बनेपाको उक्त उद्योगबाट काठमाडौं डिपो निम्ति तीन टि्रप ढुवानी हुँदैछ भन्ने जानकारी पाएपछि स्थानीयले सल्लाघारीको बीच बाटोमै रोकेर सिलिन्डर बाँडेका थिए। नेपाली कांग्रेसका जिल्ला नेता दुर्लभ थापाले यसको नेतृत्व गरेका हुन्। उनका अनुसार बा५च ६०५६, बा५च ९४३५ र बा८च ४३२ नम्बरका गाडीमा २ सय ८० सिलिन्डर थिए। ग्यास नपाएर बिहान-बेलुकी भात पकाउनै समस्या परेपछि बाध्य भएर गाडी नियन्त्रणमा लिनुपरेको उनले बताए। 'सरकारले तोकेकै मूल्य तिरेर ग्यास बाँडेका हौं,' उनले नागरिकसँग भने, 'खुद्रा बिक्रेतादेखि डिपोसम्म धाउँदा पनि उपभोक्ताले ग्यास पाएका छैनन्, चुल्हो बाल्न नसकेर सुत्केरीले दालमोठ-चिउरा खानुपरेको छ, हैरान भएर यस्तो कदम चाल्नुपर्‍यो।'बीच सडकमा बिक्री सुरु भएपछि सल्लाघारीमा स्थानीय उपभोक्ताको भिड लागेको थियो। स्थानीयलाई लाम बस्न लगाएर प्रतिसिलिन्डर १ हजार ४ सय १५ रुपैयाँका दरले वितरण गरेको थापाले जानकारी दिए। दुवाकोट, कटुन्जे, सिपाडोल, सूर्यविनायक, दूधपाटी, बाराही, सुकुलढोका, वंशगोपाल लगायत क्षेत्रबाट समेत उपभोक्ता आएका थिए। 'जुनसुकै वस्तुमा उत्पादनस्थल नजिकका ग्राहकको पहिलो हक लाग्छ,' थापाले भने, 'भक्तपुरको बाटो हिँडाउने तर यहीँका ग्राहकलाई नदिने भन्ने हुँदैन।'उपभोक्ताले तोकिएको पैसा तिर्छु भन्दा पनि ग्यास नपाएका बेला उद्योगहरूले कालोबजारी गरिरहेको थाहा पाएर नियन्त्रणमा लिएको उनले दाबी गरे। 'वाइसिएल, युथफोर्स भएको भए सित्तै बाँड्थे,' उनले भने, 'हामीले त पैसा दिएर बाँडेका छौं, कसैले गैरकानुनी भन्छ भने भनोस्।'सरकारी समाचार संस्था राससले गाडी चालक राजाराम भुजेललाई उद्धृत गर्दै 'अन्तिम समयमा आएका केही व्यक्तिले जर्बजस्ती ग्यास झिकेर लगेको' जनाएको छ।