News

Feb 2, 2012

लिम्बुवानको दक्षिणी सिमाना जोगवनीदेखि विजयपुरसम्म रोडमार्च हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
विराटनगर, मावारोङ, लिम्बुवान माघ १८, २०६८,संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ''लिम्बुवान स्वायत्त राज्य'' घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते दिनको १:०० बजेदेखि लिम्बुवानको दक्षिणी सिमाना विराटनगर रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान मार्च पास कार्यक्रम सुरु गरेको छ । मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा माघ १८ गते मिल्स, रानी विराटनगर, मावारोङबाट जारी गरिएको प्रेस-विज्ञप्तिमा उल्लेख भएनुसार सो दिनको मार्च पास टोली दुहबीमा पुगेर विश्राम गर्नेछ र अर्को दिन १९ गते बिहान ८:०० बजेदेखि दोस्रो दिनको मार्च पास कार्यक्रम सुरु हुनेछ ।
परिषदका केन्द्रीय अध्यक्षलगायत केन्द्रीय नेताहरूले नेतृत्व गर्ने यो लिम्बुवान मार्च पास कार्यक्रमलाई लिम्बुवानमा भइरहेको शान्तिपूर्ण तर सशक्त आन्दोलनको अर्को उत्कर्षरुपमा लिइएको छ । यस लिम्बुवान मार्चले लिम्बुवानको दक्षिणी सिमा र त्यहाँ रहेको भूभाग झापा, मोरङ र सुनसरीलाई ऐतिहासिक लिम्बुवान स्वायत्त राज्यमै कायम गराउन थप दवाब दिनेछ । साथै, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, स्वायत्तता र आत्मनिर्णयको अधिकारजस्ता आदिवासी जनजाति लगायततका जनताहरुको अधिकारलाई कुण्ठित गर्ने षडयन्त्र भएमा जस्तोसुकै त्याग गर्न पनि लिम्बुवानी जनताहरु तयार रहेको सन्देश यस लिम्बुवान रोडमार्चले दिनेछ । यसका साथै, लिम्बुवानी नेतृत्व र कार्यकर्ताहरुमा यस लिम्बुवान मार्च पासले अझ सङगठित, प्रतिवद्ध र जुझारु भई लिम्बुवान आन्दोलनमा निरन्तर लागिरहन अभ्यास गराउने समेत अपेक्षा गरिएको छ ।
यही विज्ञप्तिमा, माघ १७ गते राज्य पुनर्संरचना समितिको बहुमत सदस्यले बुझाएको प्रतिवेदनमा लिम्बुवान राज्यको नामकरण भएकोप्रति परिषदले स्वागत गरेको छ । तर, लिम्बुवानको ऐतिहासिक सिमाना सङ्खुवासभा, धनकुटा, झापा, मोरङ र सुनसरीमा सिमाना खुम्चयाएर, मिचेर अन्य राज्यहरू प्रस्ताव गरेकोप्रति परिषदले घोर आपत्ति प्रकट गरेको छ । सोही विज्ञप्तिमा थप भनिएको छ- ''यसरी लिम्बुवानको ऐतिहासिक सिमाना खुम्च्याउन पाइँदैन । र, अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य कायम गरियोस् भनी यस परिषदले निरन्तर आन्दोलन अघि बढाउने जानकारी यसै प्रेस-विज्ञप्तिमार्फ् र्सार्वजनिक गर्दछौं ।'

No comments: