News

Dec 2, 2007

लोकतान्त्रिक गणतन्त्र घोषणाको खुलासा सभामुख सुभाषचन्द्र नेम्वाडबाट

लिम्वूवान व्लगस्पोट काठमाडौं
नोभेम्बर, २८ ;- काठमाडौं वर्तमान अन्तरिम विधायिका संसदबाट लोकतान्त्रिक गणतन्त्र घोषणाको प्रक्रिया मिलाउने विषयमा दलहरुबीच सहमति बनेको कुराको खुलासा सभामुख सुभाषचन्द्र नेम्वाड.ले गर्नु भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुखले निर्वाचन प्रणालीलाई समानुपातिक बनाउने सवालमा सहमति जुटाउन गृहकार्य जारी रहेको बताउनु भएको छ । नेम्वाड.ले अगाडि बताउनु भयो लोकतान्त्रिक गणतन्त्रको विरोधमा कोही पनि माननीय सांसद देखिनु भएको छैन । गणतन्त्र घोषणाको विधि प्रक्रिया मिलाएरै सहमति निर्माण हुने अवस्था छ । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुबीच फरक दृष्टिकोण आए पनि सहमतिको सम्भावना बढ्दै गएको बताउनु भयो । सहमतिमा जानुको विकल्प नभएकाले बिहीबारबाट शुरु हुने संसदको बैठक अगावै दलहरु टुंगोमा पुग्ने आशा व्यक्त गर्नु भयो । संसदले निर्देशन गरे अनुरुप गणतन्त्र घोषणाको प्रक्रिया मिलाउन र समानुपातिकमा जान गृहकार्य घनीभूत भइरहेको सभामुखले बताउनु भयो । सहमतिका लागि दलहरुबाट धेरै प्रस्ताव आएका र त्यसबारे छलफल भइरहेको उहाँको भनाइ थियो । गृहकार्य सकारात्मक मोडतर्फ बढेकाले एक दुइ दिनभित्रै टुंगोमा पुग्ने बताउनु भयो । दलहरुले आपसी अविश्वासको अन्त्य गर्नु पर्नेमा र नागरिक समाज, पत्रकार लगायत मुलुकका आम जनताले दबाब दिइरहनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो, जनादेश अनुरुप सात दलीय एकताबाट सहमति बनाउनु पर्छ, सहमतिको आधारबाटै सिंगो मुलुक एक ढिक्का बनाएर संविधानसभा निर्वाचनमा जानु पर्छ ।सहमति निर्माणका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत शिर्ष नेताहरु छलफलमा व्यस्त हुनुभएको बताउँदै पछिल्लो भेटवार्ता निकै सकारात्मक मोडतर्फ बढेको बताउनुभयो । सकारात्मक दिशामा बढेको कसरी भन्नुभयो भन्ने सवालमा उहांले भन्नुभयो, अहिले नै सबै कुरा बताउन मिल्दैन, तपाईंहरु हेरिराख्नुहोस् एक दुई दिनमै सहमती बन्दैछ । आफूले प्रधानमन्त्री , एमाले महासचिव माधवकुमार नेपाललगायतका नेताहरुसंग भेट्दा उहाँहरु उत्साही देखिनुभएको बताउनुभयो । माओवादी नेताहरुसँग पनि आजै भेट्ने उहाँको भनाइ थियो ।दलहरुबीच भएका सम्झौताको पालना अनिवार्य भएको बताउनुभयो । जनताले सम्झौताअनुरुप अगाडि बढेर संविधानसभा गर भनेकाले जतिसक्दो छिटो निर्वाचन सफलताका साथ सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । नेताहरुले विगतमा गरेको प्रतिवद्धता अनुरुपको व्यवहार गर्नुपर्ने बताउनुभयो।सात दल सहमतीमै अगाडि बढिरहेको बताउदै भन्नुभयो, संसदको विशेष अधिवेशनमा दर्ता गरिएका प्रस्तावमाथि भएको मतविभाजन पनि सात दलबीचको सहमतीमै भएको हो । पारित प्रस्तावको कार्यान्वयन पनि सहमत बनाएरै हुने उहाँको भनाइ थियो ।लोकतान्त्रिक प्रक्रियाअनुरुप सबै विषयको टुंगो लगाउनुपर्नेमा उहाँको जोड थियो । बहुमत र अल्पमतभन्दा पनि सात दलीय एकताबाटै राजनीतिक निकास निकाल्नुपर्ने बताउनुभयो । सहमती निर्माणका लागि व्यवस्थापिका संसद पनि सक्रिय रहेको बताउनुभयो । बिहीबारबाट शुरु हुने संसदको बैठक सहमतीमा चल्ने उहाँको भनाइ थियो ।

No comments: