News

Mar 21, 2013

विश्वमै पहिलोपटक 'तेस्रो लिंगी' को जनसंख्या तयार पारिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत ८,नेपालले विश्वमै पहिलोपटक तेस्रो लिंगीको संख्या सहितको विवरण ल्याउने तयारी गरेको छ। 'राष्ट्रिय जनगणना २०६८' को तथ्यांक प्रशोधन धमाधम गरिरहेको केन्द्रीय तथ्यांक विभागले करिब चार महिनाभित्र विवरण सार्वजनिक गर्ने बताएको छ। सरकारले तेस्रो लिंगीहरूकै पहिचानबाट नागरिता दिन थालेपछि उनीहरूकै अनुरोधबमोजिम विभागले विवरण ल्याउने लागेको हो। २०६८ जेठमा सम्पन्न जनगणनाको पहिलो चरणअन्तर्गत 'घरपरिवार सूचीकरण' बाट लिइएको जानकारीको नतिजा २०७० असारसम्म ल्याउने गरी तयारी भइरहेको विभाग जनसंख्या शाखा प्रमुख रुद्र सुवालले बताए। सुवालका अनुसार तेस्रो लिंगीको आधारमा जनसंख्या विश्लेषण नेपालमा पहिलोपटक गर्न लागिएको हो। 'भारत, युरोपका कतिपय देश र अमेरिकाका केही देशमा पनि तेस्रो लिंगीको तथ्यांक लिइन्छ,' उनले भने, 'तर उनीहरूले सार्वजनिक गर्दैनन्। कसैले आफू महिला र पुरुष नै नभएको भन्ने कुरा आएमा मात्र तेस्रोलिंगी लेखिए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।' अन्य देशमा चाहनाअनुसार लिंग परिवर्तन गर्ने चलन रहेको र तथ्यांक आउँदा फरक पनि पर्नसक्ने भएकाले जनसंख्या सार्वजनिक गर्ने चलन नरहने सुवालले बताए। नेपालमा यस्तो परिपाटी नभएकाले उनीहरूले साँचो कुरा बताएमा यकिन तथ्यांक आउने उनको बुझाइ छ। यो सँगै नेपाल तेस्रोलिंगीलाई संख्यात्मक आधारमा विश्लेषण गर्ने पहिलो राष्ट्र हुने जनसंख्याविद्हरू बताउछन्। यसबाट सामाजिक समावेशीकरणमा नेपालले फड्को मारेको भन्न मिल्ने जनसंख्याविद् पद्मप्रसाद खतिवडाले बताए। 'तेस्रोलिंगीको हकअधिकार र स्वतन्त्राका हिसाबले नेपाल विश्वमै राम्रो देशका रूपमा कहलिएको छ। जनसंख्या गणनासँगै उनीहरूकै नाममा नागरिकता दिने र तेस्रोलिंगीबीच आपसमा विवाह हुनेछ,' उनले भने। बदनाम हुने डरले आफ्ना घरमा तेस्रोलिंगी भए पनि खोल्न हिचकिचाउने प्रवृत्तिले यकिन तथ्यांक आउन नसकेको खतिवडा बताउँछन्। तेस्रोलिंगी जनसंख्या सम्बन्धी रिपोर्टकोे निष्कर्षमा केवल जनसंख्या मात्र आउने र यौनिक अल्पसंख्यकका सबै प्रकारहरू खोल्न नसकिने उनले बताए। उनका अनुसार खासगरि लेसबियन, गे, ट्रान्सजेन्डर, बाइसेक्सुअल र इनसेक्सुअल गरी पाँच प्रकारका तेस्रोलिंगी हुन्छन्। सन् २००७ मा सर्वोच्च अदालतले तेस्रो लिंगीको नामबाट नागरिकता दिने आदेश दिएपछि तेस्रोलिंगीकर्मीहरूकै पहलमा जनगणना थालिएको थियो। विभागले घरपरिवार सूचीकरण लगत अन्तर्गत २०६८ जेठमा 'परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र तेस्रोलिंगी' को संख्या आउने प्रश्नावलीबाट तेस्रो लिंगीको जनसंख्या आउनेछ।

No comments: