News

Mar 21, 2013

अपहरणको धन्दामा प्रहरी नै तीन जना प्रहरी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत ८,मूर्ति व्यापारीलाई पक्राउ गर्ने धम्की दिएर साढे २ लाख रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंका तीन जना प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले परिसरको विशेष टोलीका २ जना सइ र १ जना असइलाई पक्राउ गरेको हो। बौद्ध वृत्तका अनुसार हिजो बेलुका सइ प्रकाश मल्ल र रुद्रराज पौडेल तथा असइ राजु भण्डारीलाई पक्राउ गरेको हो। यी तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रणबहादुर चन्दले विशेष टोलीका रुपमा सादा पोशाकमा खटाउँदै आएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चैत ४ गते मूर्ति व्यापारी कर्मध्वज लिम्बु अपहरणमा परेका थिए। उनलाई एक समूहले नियन्त्रणमा लिएर गेष्ट हाउसमा राखेर रकम बार्गेनिङ गरेको थियो। उनीहरुले लामा मूर्तिको तस्करी र कारोबारमा संलग्न रहेको भन्दै धम्क्याएर चार लाख रकम मागेको थियो। लामाले तत्काल साढे दुई लाख रकम दिएपछि सो समूहले डेढ लाख ल्याएपछि दिने भन्दै उनको मोटरसाइकल समेत नियन्त्रणमा लिएका थिए। पाँच गते उनी सो समूहको कब्जाबाट मुक्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए। उजुरीलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अपराध नियन्त्रणका लागि खटिएका प्रहरीले नै गैर कानुनी काम गरेको पत्ता लगाएपछि बुधबार बेलुका यी तीनै जनालाई पक्राउ गरेको थियो। अपराध महाशाखाले प्रारम्भिक अनुसन्धान गरी उनीहरुलाई थप कारबाही प्रक्रियाका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ। महानगरीय प्रहरी कार्यलयका प्रमुख नवराज ढकालले पक्राउ प्रहरीलाई अपहरण अभियोगमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको पुष्टि गरे । उनले अपराध महाशाखाका अधिकारीलाई थप अनुसन्धानको लागि निर्देशन दिइसकेको बताए । महाशाखाका कार्यबाहक प्रमुख एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने, 'अपराधीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न कन्जुस्याई हुन्न।'

No comments: