News

Mar 1, 2013

एमाओवादी र माओवादीमा सम्पत्ति विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १९,एकीकृत माओवादी र सोसँगै गत असारमा विभाजित भएको नेकपा-माओवादीबीच सम्पत्ति बाँडफाडको मुद्दा फेरि बल्झेको छ। चितवन पार्टी कार्यालयमा भएको विवादमा मुछिएका वैद्य माओवादी कार्यकर्ता रामराज भुर्तेललाई गत १० गते प्रहरीले पक्रेपछि विवाद बल्झेको हो। गत असार १६ गते भएको विवादपछि सम्पत्ति भए पनि भागवण्डा अझै पनि हुन सकेको छैन। सोही प्रकरण पछि पुनः चर्केको विवाद हल गर्न माओवादी अध्यक्ष मोहन वैद्य एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन्। लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष दाहाल निवासमा भएको द्विपक्षीय सो भेटमा पार्टी मुख्यालय, पेरिस डाँडामा भागवण्डा गर्ने तथा सो भवन खरिद गर्दा लागेको ऋण तिर्ने सहमति भएको छ। स्रोतका अनुसार एमाओवादीले ७० र माओवादीले ३० प्रतिशतका आधारमा ऋण तिर्ने सहमति गरेका छन्। सो भवन खरिदका लागि राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले लालीगुराँस फाइनान्ससहित अन्य बैंकबाट निकालेको साँवा ब्याजसहित ३ करोड २० लाख रुपैयाँ तिर्ने भएका छन्। चितवन पार्टी कार्यालयको विवाद हल गर्न भने तत्कालीन जिल्ला समितिमा रहेका सदस्यता विभाजनलाई आधार बनाएर भागवण्डा गरिने भएको छ। जसका लागि एमाओवादीका तर्फबाट हितराज पाण्डे तथा माओवादीका तर्फबाट देव गुरुङको दुईसदस्यीय कार्यदल बनाइएको छ। एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले भुर्तेललाई पक्राउसँगै प्रकाश खनाल, किरण पोखरेल, केशव नेपाल, लालमणि कुँवर, रुक्मांगत खरेल, बुद्ध पाखि्रन, सशक्तशरण गोले, सूर्य बराल, भीमबहादुर खड्का, लालबहादुर तामाङ, नारायण न्यौपानेलाई वारेन्ट जारी गरेको छ। वारेन्ट फिर्ता लिन पनि दाहाल र वैद्य दुवै सहमत भए पनि कार्यान्वयन पक्ष भने जटिल रहेको लाजिम्पाट स्रोतले बतायो।

No comments: