News

Jul 18, 2008

राष्ट्रपति तथा उप राष्ट्रपतिमा तीन तीन उमेदवार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदाता समक्ष आफू योग्य उमेदवार भएको बताउदै मत मागेका छन् । राष्ट्रपति र उप राष्ट्रपतिका उमेदवारहरुले मतदातासमक्ष आफूलाई मत दिन आग्रह गरेका छन् । संविधानसभा सचिवालयको कार्यक्रम अनुसार, साउन ३ गते संविधानसभास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदातासमक्ष आफ्नो योग्यताको ब्याख्या गरे । मधेसी जनअधिकार फोरमबाट उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका परमानन्द झा भने कार्यक्रममा उपस्थित थिएनन् । माओवादीबाट राष्ट्रपति उमेदवार बनेका रामराजाप्रसाद सिंहले मुलुकमा महान युग सुरु हुनलागेको बेला महान संविधान बन्ने दावी गरे । संविधानसभा चुनावपछि पनि धेरै मुलुक टुक्रिएको तथा निरंकुशता हावी भएको उल्लेख गर्दै सिंहले त्यसतर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा सिंहले संविधान बनाउदा अरु मुलुकको नक्कल गर्न नहुने धारणा पनि राखे । नेपाली कांग्रेसबाट राष्ट्रपति उमेदवार बनेका डा. रामवरण यादवले आफू राष्ट्रपति बने मुलुकमा देखिएका जातीय र क्षेत्रीय समस्या समाधान गर्न सक्ने बिश्वास गरे । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन आफूले सहयोग पुर्‍याउने बताउदै यादवले नेपालको सम्भावना धेरै भए पनि 'सिस्टम' नबनेका कारण अघि बढ्न नसकेको उल्लेख गरे । एमालेबाट राष्ट्रपति उमेदवार बनेको रामप्रीत पासवानले आफू राष्ट्रपति बने लोकतन्त्र र स्थायी शान्ति स्थापनालाई प्राथमिकता दिने बताए । राजाको शाषनका बेला सडकमा चलेको संसदको आफूले अध्यक्षता गरेको स्मरण गर्दै पासवानले आफू मधेसी तथा दलित भएकाले सबैलाई मिलाएर लान सक्ने बिश्वास ब्यक्त गरे । माओवादीबाट उपराष्ट्रपतिको उमेदवार बनेकी शान्ता श्रेष्ठले आफूलाई पदको कुनै लोभ नभएको बताइन् तथा आफू नेपाली कांग्रेस र एमालेमा पनि रहिसकेकीले सबै दलले मत दिने बिश्वास गरिन् । नेपाली कांग्रेसबाट उपराष्ट्रपतिमा उमेदवारी दिएका मानबहादुर बिश्वकर्माले प्रजातन्त्रका लागि गरेको संघर्ष आफ्नो परिचय भएको उल्लेख गर्दै प्रजातन्त्रलाई संस्थागत गर्ने कामलाई नै आफूले प्राथमिकता दिने बताए । एमालेबाट उपराष्ट्रपतिको उमेदवार बनेकी अष्टलक्ष्मी शाक्यले हिंशाको अन्त्य गर्नु आफ्नो प्रतिवद्धता हुने प्रष्ट पारिन् ।

No comments: