News

Jul 31, 2008

गोर्खाल्याण्ड आन्दोलनले थप गति लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अलग राज्य माग गर्दै दार्जिलिङमा भइरहेको नेपालीभाषीको आन्दोलन थप अघि बढाइएको छ । गोर्खा जनमुक्ति मोर्चाका तर्फबाट सञ्चालन भइरहेको आन्दोलनले विस्तारै गति लिन थालेको छ । आन्दोलन विगत १० महिनायता लगातार चलिरहेको छ । हालसम्म आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ । पछिल्लो समय दार्जिलिङमा आन्दोलनकारी एक युवतीको मृत्यु भएपछि भने तनाव भएको छ ।दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्वपार्षद दीपक गुरुङको जाकिरहुसैन रोडस्थित घर घेर्नेक्रममा गोली लागेर गत जुलाइ २५ मा मोर्चाकी कार्यकर्ता प्रमिला शर्माको मृत्यु भएको थियो । उनको हत्या आरोपमा गुरुङसहित गोरामुमोका १४ नेताहरु पक्राउ परेका छन् ।यसैबीच, गोलीकाण्डपछि असुरक्षाको अवस्था भएको भन्दै गोरामुमो अध्यक्ष सुवास घिसिङ सपरिवार सिलिगुडी विस्थापित भएका छन् । आफ्नो पार्टीकी सक्रिय कार्यकर्तालाई घिसिङ पक्षधरले गोली हानेको भन्दै मोर्चाका अध्यक्ष विमल गुरुङले घिसिङलाई तत्काल दार्जिलिङ छोड्न चेतावनी दिएपछि पत्नी र दुइ छोरासहित घिसिङ सिलिगुडी गएका हुन् । उता, मोर्चा कार्यकर्ताले घिसिङको मिरिकको मञ्जु चिया कमानस्थित पुर्ख्यौली घर कब्जा गरी पार्टीको झण्डा गाडेर कार्यालय खोलेका छन् ।गोर्खाल्यान्ड आन्दोलन अघि बढिरहेकै बेला यसबारे आगामी अगस्ट महिनाको पहिलो साता भारतको राजधानी नयाँदिल्लीमा मोर्चा, बंगाल सरकार अनि केन्द्र सरकारबीच त्रिपक्षीय वार्ता हुने सम्भावना देखिएको छ ।

No comments: