News

May 4, 2009

प्रधानमन्त्री प्रचण्डले आफ्नो पदबाट राजीनामा दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पदबाट राजीनामा दिएका छन्।सोमबार दिउंसो देशवासीका नाममा सन्देश दिंदै उनले आफ्नो राजीनामाको घोषणा गरेका थिए।प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई काम गर्न नदिईएको भन्दै, उनकै शब्दमा, देशमा द्वैध सत्ताको अवस्था तुरुन्त अन्त्य हुनुपर्ने माग गरेका छन्।सरकारले नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेको एक दिनपछि प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।सेनापतिलाई बर्खास्त गर्ने सरकारी निर्णयको विरोध गर्दै सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल, नेकपा एमाले, ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको थियो।यसअघि राष्ट्रपति डा.रामबरण यादवले प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाउने सरकारको निर्णय संविधान विपरित भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरेका थिए।राष्ट्राध्यक्ष र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले आइतबार प्रधानमन्त्रीलाई पत्र पठाई त्यस्तो आग्रह गरेका थिए।मन्त्रिपरिषदको बैठकले आइतवार मध्यान्ह प्रधानसेनापति रुक्माङगद कटवाललाई पदबाट हटाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो जानकारी राष्ट्रपतिलाई दिएका थिए।सरकारको औपचारिक पत्र दुई बजे राष्ट्रपति कार्यालयले पाएको थियो।त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई चारबजे असन्तुष्टियुक्त पत्र पठाएका हुन्।राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिसंग स्वीकृति नलिई र जानकारी नै नदिई जुन किसिमले निर्णय भयो, त्यो संविधानको मर्म विपरित छ। त्यसकारण उक्त निर्णय सहमति नजुटाई कार्यान्वयन नगर्नु होला। सहमतिकै बाटोमै अगाडी बढ्नु होला भन्ने पत्रमा लेखिएको छ।”करीब दुई साता अघि सेनापतिलाई स्पष्टीकरण सोधे पछि प्रधानमन्त्रीले आफुसंग गरेको चारवटा छलफलमा आफुले राजनीतिक सहमतिका आधारमा अघि बढ्न भनेको र प्रधामन्त्रीले त्यसै अनुसार गर्ने बताएको कुरा पनि राष्ट्रपतिले पत्रमा स्मरण गराएका छन्।उत्पन्न परिस्थितिका बारे राष्ट्रपति विभिन्न छलफलमा व्यस्त रहेका थिए।ती भेटघाटहरु राष्ट्रपतिकोतर्फबाट नभई घट्नाक्रमबारे चासो र चिन्ता व्यक्त गर्न विभिन्न क्षेत्रका प्रतिनिधिहरुले राष्ट्रपतिलाई भेटेको सल्लाहकार दाहालको भनाइ छ। सरकारले निम्त्याएको चर्को राजनीतिक विभाजनले सैनिक जंगी अड्डामा पनि दिनभरि जसो अन्यौल थियो।सरकारले कार्यवाहक प्रधानसेनापति बनाएको पत्र बुझेर रथी कुलबहादुर खड्का आन्तरिक परामर्शमा व्यस्त रहे।अवकाश पत्र दिइएका प्रधानसेनापति कटवाल पनि कार्यकक्षमै थिए। बुझ-बुझारथ पनि गरिएको छैन।त्यसैले सैनिक मुख्यालयले रथी खड्काले कार्यभार सम्हाले-नसम्हालेको औपचारिक जानकारी सार्वजनिक गरेको छैन।सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले सरकारको निर्णयलाई मान्यता नदिए पछि उनी र सरकारद्वारा बनाइएका कार्यवाहक प्रधानसेनापति बीच नै समन्वयको संकट देखिने परिस्थिति उत्पन्न भएको छ।

No comments: