News

May 21, 2009

आप्पा शेर्पाले उन्नाइसौँ पटक सगरमाथा आरोहण गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ७ गते । सगरमाथाको चुचुरो छुने आप्पा शेर्पाको कुनै धोको थिएन अझ कीर्तिमान बनाउने त उहाँले सपनामा पनि चिताउनुभएको थिएन । धेरैको जीवन सगरमाथाको टुप्पो त के फेदीसम्म पनि नटेकी बित्छ तर आप्पा शेर्पाले उद्देश्य नराखिकनै सगरमाथा आरोहणमा एकपछि अर्को कीर्तिमान बनाउनुभएको छ ।बिहीबार बिहान ८ बजे सगरमाथाको चुचुरोमा 'जलवायु परिवर्तन रोक, हिमालयलाई बाँच्न देऊ' अङ्ककित ब्यानर फहराउँदै आप्पा १९ औँ पटक विश्वको सबैभन्दा अग्लो चुचुरोमा पुग्नुभयो । १३ महिनाअघि आफैँले कायम गरेको सबैभन्दा बढीपटक सगरमाथा चढ्ने मानव कीर्तिमान पनि उहाँ आफैँले भङ्ग गर्नुभयो ।सोलुखुम्बुको थामेका ४९ वर्षीय आप्पा १२ वर्षको छँदा आफ्ना चौँरी गोठाला पिताको निधनपछि परिवार पाल्न पर्वतारोहण पेसामा लाग्नुभएको हो । पिताको मृत्युुपछि आमा इलाफुटी, दुई दिदी र दुई भाइको जिम्मेवारी लाक्पा तेञ्जिङको थाप्लोमा आइपर्‍यो । भरियाका रूपमा यस पेसामा लाग्नुभएका आप्पा शेर्पा एकजना डेनिस समाजसेवीको मद्दतले सोलुकै हिमालयन ट्रस्ट स्कुलमा भर्ना भए पनि दुई वर्ष नबित्दै पर्वतारोहणले तानिहाल्यो ।उहाँले सन् १९८८ मा पहिलोपटक सगरमाथा आरोहण सुरु गर्नुभयो । तर ८ हजार ५०० मिटरभन्दा माथि जान सक्नुभएन । विगत केही वर्षयता कीर्तिमानमाथि कीर्तिमानको भारी बोकिरहेका आप्पाका सुरुका तीन आरोहण प्रयास विफल भएका थिए । सन् १९९० को मे १० मा उहाँले रोब हल, ग्यारी बल र एडमण्ड हिलारीका नाति पिटर हिलारीसित पहिलोपटक सगरमाथाको आरोहण गर्नुभयो ।त्यसपछिका वर्षहरूमा भने शेर्पाले कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन । त्यसयताका १९ वर्षमा उहाँले १९ सै पटक सगरमाथा चढिसक्नुभएको छ । सन् १९९६ र २००१ मा उहाँले सगरमाथा चढ्नुभएन तर १९९२ मा एकैवर्षमा दुईपटक सगरमाथा आरोहण गर्नुभयो । आत्मीय पर्वतारोही मित्र बाबुछिरी शेर्पाको आरोहणकै क्रममा निधन भएपछि सन् २००३ मा आप्पाले पर्वतारोहणबाट संन्यासको घोषणा गरे पनि त्यो कार्यान्वयन भने भएन । सन् २००६ को डिसेम्बरदेखि आप्पा अमेरिकाको ड्रापरमा श्रीमती र छोराछोरीसहित बसिरहनुभएको छ । पटकपटक उहाँले भन्ने गर्नुभएको छ, "कीर्तिमान राख्ने कुनै योजना पनि थिएन । मैले कीर्तिमान राख्ने सपना पनि कहिल्यै देखिनँ । म कहिल्यै कीर्तिमानको पछि लाग्दिनँ पनि तर के गर्नु जब कीर्तिमान नै आप्पाको पछि लागिदिन्छ " यसैबीच विश्वको सर्वोच्च शिखर सगरमाथामा एकै दिनमा ४२ जना पुग्न सफल भएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्वतारोहण शाखाबाट प्राप्त जानकारी अनुसार बुधबार ४२ जनाले सगरमाथा सफलतापूर्वक अरोहण गरेका छन् । ह्याब्स कोबलर एन्ड पाटनर एभरेस्ट एक्सपिडिसनबाट आठ जना नेपालीसहित चार अमेरिकन र एक बेलायती नागरिक बुधबार बिहान ८ बजे सर्वोच्च शिखरमा पुग्न सफल भएका थिए । हाई अल्टीट्युट डि्रम्स, वेयुल प्राइभेट र माउन्टेन एक्सपिरेन्स प्राइभेटबाट गरी ४२ जनाले सगरमाथा अरोहण गरेको शाखाले जनाएको छ ।

No comments: