News

May 17, 2011

शान्ति प्रकृया छिटो टुङ्ग्याउन सत्तारुढ दलका नेताहरु सहमत

जेष्ठ ३ - प्रधानमन्त्री झलनाथ खनालसहित सत्तारुढ दलका नेताहरु शान्ति प्रक्रियालाई अविलम्ब टुङ्गोमा पुर्याउन प्राथमिकताकासाथ छलफल चलाउन मंगलबार सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसंग सेना शान्ति प्रकृया सम्बन्धी प्रस्ताव र खाका तयार गर्ने सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 'प्रधानमन्त्रीले विभिन्न पक्षहरुसँग विचार–विमर्श गर्ने तथा तीन दलले ठोस सहमतिको प्रस्ताव बनाई विशेष समितिको बैठकमार्फत् शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउने सहमति भएको छ' थापाले जारी गरेको प्रेस नोटमा भनिएको छ । त्यसैगरी संवैधानिक समितिअन्तर्गत सहमति कायम भइनसकेका ३० वटा विवादका बुँदाहरुमा यथाशीघ्र सहमति जुटाउन उपसमितिको बैठक छिटो–छिटो आयोजना गरी प्रयत्न अघि बढाउने बारेमा पनि छलफल भएको उल्लेख छ । दिउँसो दुई बजे शुरु भएको छलफलमा एमाले बरिष्ठ उपाध्यक्ष वामदेव गौतम र पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे र माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ पनि सहभागि थिए । सरकारले संविधानसभाको म्याद थप एकवर्ष बढाउन प्रस्ताव दर्ता गरेपश्चात् प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र नेताहरुसँग भेटवार्ता र परामर्श गर्दै आएका छन् ।

No comments: