News

May 19, 2011

नयाँ संविधानको नाम 'नेपालको संविधान' राखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ५ - लामो समयदेखि नयाँ संविधानको नाममै रहेको विवाद संवैधानिक समिति मातहतको उपसमिति बैठकले बिहीबार टुंग्याएको छ । नयाँ संविधानको नाम 'नेपालको संविधान' राखिने भएको छ । दलहरुले आ-आफ्नै ढंगले संविधानको नाम प्रस्ताव गर्दै आएका कारण नाममै सहमति जुट्न सकेको थिएन । समिति सदस्य पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको नाममा रहेको ६ वटा सहित ८ वटा विवाद टुंग्याइएको बताए । संविधानको नाममै विभिन्न खालको ६ वटा विवाद रहेको थियो । त्यस्तै नयाँ संविधानमा माओवादी लडाकु सम्बन्धी कुनै पनि विषय उल्लेख नगर्ने सहमति भएको छ । माओवादीले जनमुक्ति सेना लेखिनुपर्ने अडान लिंदै आएको थियो । संविधान लागु हुने बेलासम्म शान्ति प्रक्रिया टुंगिने र त्यसबेलामा माओवादी लडाकु नरहने भएकाले त्यस विषयमा केही उल्लेख नगर्ने दलहरुबीच समझदारी बनेको छ । मौलिक अधिकारका विषयमा देखिएको विवाद राज्यको निर्देशन सिद्धान्त भित्र राखेर समाधान गरिने भएको छ । विवाद समाधान हुन बाँकी रहेका मुख्य ३० मध्ये ८ वटामा सहमति जुटेपछि अब शासकीय स्वरुप,निर्वाचन प्रणाली,राज्यको पुनःसंरचना लगातका २२ वटा विषयमा सहमति जुटाउन बाँकी रहेको छ । राज्य पुनःसंरचना सम्बन्धी विषयमै ७८ वटा विवाद कायम रहेको छ ।

No comments: