News

Apr 17, 2013

डलर घटे पनि सुनचाँदीको भाउ यथावत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ केही कम भए पनि बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएन । बिहान अन्तर्राष्ट्रिय बजारमा भएको सुनको कारोबार हेर्दा नेपाली बजारमा प्रतितोला ३/४ सय रुपैयाँसम्म बढ्न सक्ने आंकलन गरिएको भएपनि दिउँसो डलरको भाउमा आएको गिरावटले बजारमा सुनको भाउ यथावत रहन गएको हो । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको ४९ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको भाउ ८ सय ९८ रुपैयाँ कायम गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा डलरको एक्स्चेञ्ज रेट ६५ सेन्टले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार डलरको बिक्री मूल्य ८७ रुपैयाँ २० पैसा तोकेको छ । यो मूल्य मंगलबारको तुलनामा ४६ पैसाले कम हो । अन्तर्राष्ट्रिय बजार सुनचाँदीको खरिद विक्री डलरमा हुने हुँदा डलरको भाउले सुनचाँदीको भाउलाई प्रत्यक्ष असर पार्ने महासंघका अध्यक्ष शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मागभन्दा पूर्ति बढी भएपछि डलरको भाउ घट्न गएको हो । पछिल्लो समय डलर र सुन होल्ड गरेर राख्ने धनाढ्यहरुले सुन र डलर होल्ड गरेर राख्नुभन्दा अन्यत्र लगानी गर्न उपर्यूक्त ठानि सुन र डलर ठूलो परिमाणमा बेच्न थालेपछि बजारमा सुन र डलरको भाउ घट्न थालेको अर्थविद् चिरञ्जिवी नेपालले बताउनुभयो ।

No comments: