News

Apr 17, 2013

मातृका माओवादी देशव्यापी प्रशिक्षणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उदयपुर, वैशाख ४- प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विघटनको माग राख्दै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) देशव्यापी प्रशिक्षण कार्यक्रममा उत्रने भएको छ। चैत ३० र ३१ गते काठमाडौंमा भएको विस्तारित बैठकको निर्णयानुसार चुनावी मन्त्रिपरिषदको विघटन माग गर्दै पार्टीले आउँदो १५ गतेदेखि २५ गतेसम्म देशका विभिन्न ठाउँमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको जनाएको छ। पार्टीले देशका बिभिन्न चार ठाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको पार्टी केन्द्र बैठकको निर्णय उदृत गर्दै उदयपुर इन्चार्ज हिमालसिंह राईले बताएका छन्। उनका अनुसार पूर्वी जिल्लाका कार्यकर्तालाई समेटेर पार्टीले पूर्वी व्युरोको आयोजनामा सर्लाहीमा आउँदो १५ गते प्रशिक्षण गर्ने भएको छ। त्यस्तै मध्यक्षेत्रका कार्यकर्तालाई नारायणी व्युरोले आउँदो २० गते प्रशिक्षण दिने, २२ गते लुम्बिनीमा र २५ गते सुदूर पश्चिमको कुनै जिल्लामा प्रशिक्षण कार्यक्रम राखिएको राईले बताए। विस्तारित बैठकले जनवादी क्रान्तिका लागि दीर्घकालीन जनयुद्धको तयारीमा लाग्न सबै कार्यकर्तालाई निर्देशन पनि दिएको जनाइएको छ। जनसंविधान निर्माण गर्न संयुक्त क्रान्तिकारी सरकारको गठन गर्नुपर्ने, राष्ट्रपतिले घोषणा गरेको २५ बुँदे घोषणापत्रको तत्काल खारेजीको माग पनि अघि सारेको छ। चारदलीय सिन्डिकेटको अन्त्य गर्न आन्दोलनको आँधी वेहरी सिर्जना गर्ने पूर्वाधार तयारीका लागि पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ। चुनाव गराउने नाममा गठित रेग्मी नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा पार्टीले दिएको छ। बैठकले भारत र चीनले गर्दै आएको सीमा अतिक्रमणविरुद्ध संघर्ष गर्न सबै देशवासीलाई आह्वान पनि गरेको छ भने 'बलिदान होईन संघर्ष' गर्ने प्रतिबद्धता प्रस्ताव पनि पारित गरेको जनाइएको छ। कठपुतली सरकार विघटन, क्रान्तिकारी सरकार गठन र दीर्घकालीन जनयुद्धको तयारीलाई प्रमुखता दिएर प्रशिक्षण गर्ने निर्णय गरेको जनाएको छ। बिभिन्न समसामयिक विषयमा केन्द्रित रहेर १२ बुँदे नारासमेत बैठकले तय गरेको पार्टीले जनाएको छ।

No comments: