News

Oct 30, 2008

संरक्षण क्षेत्रबाट उम्केर आउने वन्यजन्तुले बासिन्दाहरुलाई हैरान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संरक्षण क्षेत्रबाट उम्केर आउने वन्यजन्तुले बालीनाली खाइदिनाले ताप्लेजुङको लेलेप र तापेथोक गाविसका बासिन्दा हैरान छन् । त्यसरी दुख दिने वन्यजन्तुलाई मार्ने समेत गरिएकाले संरक्षणको अभियानसमेत जारी छ । अभियान सुरु भएपछि गाउँलेमा तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पुगेको छ ।ताप्लेजुङका दुर्गम चार गाविस समेटिएको क्षेत्रलाई कन्चनजंघा संरक्षणक्षेत्र बनाएर कार्यक्रम थालिएपछि गाउँलेलाई वन्यजन्तु संरक्षणबारे चेतना दिन थालिएको हो । संरक्षण क्षेत्र आसपासका बासिन्दालाई थप सक्रिय बनाएर दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुको रक्षा गर्नुपर्ने एक अध्ययनकर्ताले सुझाएका छन् ।कन्चनजंघा संरक्षण क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व विषयमा ६ महिना लगाएर अध्ययन गरेका पोखरास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी अम्बिका खतिवडाले यस्तो सुझाएका हुन् । उनका अनुसार दशकअघि संरक्षण कार्यक्रम सुरु भएपछि वनक्षेत्रमा चरन स्थान कम भएकाले जन्तुहरु गाउँ छिर्न थालेका हुन् । मृग, घोरल, बाँदर, काला, कालोभालु, किटकटे चरा, दुम्सी, काजिल आदि वन्यजन्तु तथा चराले गाउँलेका बालीनाली क्षति पुर्‍याउने गरेका छन् । कहिलेकाहिँ गाउँलेमाथि पनि आक्रमण हुने गरेको छ ।जंगल बढेर ठूला जन्तुबाट साना जन्तु असुरक्षित भएपछि गाउँ पस्न थालेको समेत पाइएको छ । यस्तै पानी खानका लागि गाउँ निस्कने गरेका वन्यजन्तुहरुले रातिको समयमा क्षति पुर्‍याउने गरेको खतिवडाले बताए । उनको अध्ययनअनुसार गतवर्षआसपास गाउँमा औसत ४९ दशमलव ८ प्रतिशत बाली वन्यजन्तुले क्षति गरेको छ । वन्यजन्तुको हानीका कारण ४६ प्रतिशत स्थानीयले ५ देखि १० रोपनीसम्म जग्गा बाँझै छाडेका छन् । ८८ प्रतिशत स्थानीय बासिन्दाको भनाइमा दशकयता वन्यजन्तुबाट हुने हानी नोक्सानी बढ्दै गएको छ ।नक्कली मान्छे बनाउने, बार बार्ने, याक्सामा बसेर रुंग्ने, फकफकेले तर्साउने जस्ता स्थानीय तरिकाहरु अपनाएर वन्यजन्तुलाई लखेट्ने गरिएको छ । जंगली जन्तुहरु यस्ता तरिकाहरुसँग धेरै परिचित भइसकेका कारण आजकल सजिलैसँग त्यस्ता तर्साउने तरिकाहरुलाई बेवास्ता गर्दै बालीनाली हानी गर्ने गरेको पाइएको खतिवडाको निर्क्योल छ ।यसैबीच, हिउँ चितुवा र चौंरीपालकबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि विश्व वन्यजन्तु कोष नेपालले लेलेपको माथिल्लो क्षेत्र घुन्सामा हिउँ चितुवा संरक्षण उपसमितिमार्फत पशुधन विमा कार्यक्रम सञ्चालन गर्दैआएको छ । डिसेम्बर २००५ बाट सुरु उक्त कार्यक्रममा हालसम्म ३६ घरधूरीका ५ सय ३० याकहरुको विमा गरिएको खतिवडाले बताए । विमावापत ७१ हजार ९ सय ९५ रुपैयाँ संकलन भएको छ । कोषले एकमुष्ठ १२ लाख रुपैयाँ सदरमुकाम फुङलिङस्थित बैंकमा जम्मा गरिएको छ ।उक्त रकमको ब्याजबाट आर्थिक वर्ष २००५ सम्म चौंरीका चारवटा बाच्छा, २००६, ७ मा ६ वटा र ७/८ मा १० वटा गरी जम्मा हिउँचितुवाले मारेका २४ वटा चौंरी बाच्छाको क्षतिपूर्ति हिउँचितुवा संरक्षण समितिले उपलब्ध गराइसकेको छ । हिउँ चितुवा संरक्षण समिति अध्यक्ष- हिमाली चोङदु शेर्पाका अनुसार अधिकांश चौंरीपालकहरु विमा कार्यक्रमबाट उत्साहित भएका छन् । 'कार्यक्रम लागू हुनुपूर्व कुनै प्रकारको क्षतिपूर्ति पाउँदैनथे' उनले भने- 'कार्यक्रम लागू भएपछि भने अधिकांशले केही पनि नहुनुभन्दा केही हुनु राम्रो भएको बताउन थालेका छन् ।'विमा कार्यक्रमले हिउँचितुवा संरक्षणमा टेवा पुर्‍याएको अनुसन्धाता खतिवडाले बताए । यसलाई अझ व्यवस्थित गर्न हिउँचितुवा अनुगमन समितिलाई थप सुविधा दिइ चौंरीपालकहरुलाई संलग्न गराउन आवश्यक रहेको उनको अध्ययनको ठहर छ ।

No comments: