News

May 9, 2009

नेपाली सेनामा द्वैध नेतृत्वको स्थिति अझै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २६ - कागजी रूपमा नेपाली सेनामा द्वैध नेतृत्वको स्थिति अझै कायम छ । गत आइतबार सेनापति रुक्मांगद कटवाललाई हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्रपतिले उनलाई यथावत् राख्ने अर्को पत्र थमाएपछि विवाद कायम रहेको हो ।सरकारले रथी कुलबहादुर खडकालाई दिइएको कायम मुकायम सेनापतिको पत्र फिर्ता लिएको छैन । न त राष्ट्रपतिले सेनापति कटवाललाई दिएको पत्रलाई नै आधिकारिता दिइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको पत्रलाई असंवैधानिक ठहर गर्दै फिर्ता लिन अनुरोध गरेको अवस्था छ । राष्ट्रपतिले त्यो फिर्ता लिएका छैनन् ।यसले राष्ट्रिय सेना जस्तो संवेदनशील अंगमा असहज स्थिति पैदा गरेको छ । रथी खडका सरकारले दिएको कामुको पत्र लिएर दैनिक रूपमा कार्यालय गइरहेका छन् भने सेनापति कटवालले राष्ट्रपतिको निर्देशन पत्रलाई अन्तिम मानेर अझै कमान्ड सम्हालि रहेका छन् । अन्योल र असामन्जस्यताको वातावरणले दुर्घटनाको खतरा देख्नेहरू पनि छन् । पछिल्लो समयमा रथी खड्काले कमान्ड लिने कोसिस नगरेकाले केही सहज महसुस गरिए पनि उनी अझै पर्ख र हेरको अवस्थामा रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनी जंगी अड्डामा आयोजना हुने बैठक तथा औपचारिक कार्यक्रमहरूमा सहभागी छैनन् । 'उहाँ नियमित कार्यालयमा आउने गरे पनि सामूहिक बैठक तथा अन्य कार्यहरूमा सहभागी हुनुभएको छैन' एक सैनिक अधिकारीले भने, 'अरूको नेतृत्व नस्विकार्ने मनसाय उहाँको देखिन्छ ।' मध्यरातदेखि कामु सेनापति खड्काले सम्हाल्ने भनिएको सेनाको कमान्ड व्यावहारिक रूपमा अझै कटवालसँग रहे पनि सरकारले खड्कालाई दिएको कामु निर्णय फिर्ता नभएका कारण कानुनी रूपमा सेनाको दुई नेतृत्व देखा परेको छ । माओवादी रणनीतिक र चालबाजीको ढंगबाट सेनाको नेतृत्वमा फेरबदल गर्ने प्रयास गरेकाले पनि धेरै आशंकाहरू पैदा गराएको हो । सेनापति कटवाल मन्त्रिपरिषद् बैठकस्थल जानुअघि नै सबै पि्रन्सिपल स्टाफ अफिसर्स (पीएसओज) बलाधिकृत रथी छत्रमान सिंह गुरुङको कार्यकक्षमा जम्मा भइसकेका थिए ।सेनापति कटवालले आफू बालुवाटारमै रहँदा खड्काले कामु सेनापतिको नियुक्तिपत्र लिएर जंगी अड्डा गएको थाहा पाइसकेका थिए । उनलाई रक्षामन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मा र रक्षा सचिव गणेश जोशीले चिया कफीको अफर गर्दै अलमलाउन खोजिरहे पनि उनी अफरलाई बेवास्ता गर्दै अवकाशपत्र नबुझी जंगी अड्डा फर्किएको स्रोतको दाबी छ ।खड्का जंगी अड्डा आएपछि सुरुमा पीएसओजलाई आफू आएको र कामुको जिम्मेवारी पाएको जानकारी गराए । त्यसपछि बन्दोबस्तीमा उनले चार तारा रहेको गाडी, झन्डा र गार्ड व्यवस्था गर्न भने र आफ्नै कार्यालयबाट टेलिफोनमार्फत त्यसको जानकारी सेनाका विभिन्न इकाईहरूमा आफैंले दिए ।अर्कोतर्फ सेनापति कटवाल जंगी अड्डा आउनेबित्तिकै उनले पनि आफ्नो छुट्टै छलफल सुरु गरे । सुरुमा कटवालले आफ्नै कार्यकक्षमा खड्कासँग सेनामाथि संकट आएको उल्लेख गर्दै मिलेर जानका लागि प्रस्ताव राखेका थिए । तर त्यसलाई खड्काले अस्वीकार गरेको स्रोतको दाबी छ ।दुई पक्षीय छलफल सफल नभएपछि कटवालकै कार्यकक्षमा पीएसओजो बैठक बस्यो । त्यसमा खड्का पनि थिए । त्यहाँ पनि कटवालले संस्थामा परेको संकट मोचनका लागि मिलेर अघि बढ्ने प्रस्ताव गरे । खड्काले पुनः अस्वीकार गरे । नागरिक सर्वोच्चताको सिद्धान्तअनुसार पनि जननिर्वाचित सरकारको आदेशलाई मान्ने खालको धारणा पीएसओजले राख्यो । साथै सेनाको एकता, देश र जनतालाई केन्द्रमा राखेर निर्णय लिन अनुरोध गर्‍यो । 'त्यो हाम्रा लागि सबैभन्दा अप्ठ्यारो दिन थियो, सरकारले नियुक्ति गरेका कामु सेनापतिलाई सहजै स्वीकार गर्न सकिने अवस्था बनिरहेको थिएन, उहाँले कमाण्ड आफ्नो नियन्त्रणमा ल्याउने कोसिस गरिरहनु भएको थियो,' एक उपरथीले भने, 'राष्ट्रपतिले राति निर्देशन पत्र नपठाएको भए, मध्यरातपछि कमान्ड कन्ट्रोल कामुको हातमा जान्थ्यो ।' यसरी तनाव र असमान्जस्यतामा दिन बितेपछि कार्यालय समयपछि रथी खडका कार्यालयबाट निस्किएका थिए भने सेनापति कटवाल मध्यरातसम्म जंगी अड्डामै थिए । खडका कार्यालयबाट निस्किएर आफ्नो मातृ ब्यारेक पशुपतिप्रसाद (इन्जिनियरिङ) गणले आयोजना गरेको बधाई भोजमा सहभागी भएका थिए ।राति साढे १० बजे राष्ट्रपति रामवरण यादवले यथावत् काममा रहने निर्देशन दिएपछि सेनापति कटवाल र त्यहाँ रहेको उच्च अधिकारीहरूले त्यसैलाई अन्तिम मान्ने निर्णय गर्दै त्यसलाई राति नै सेनाका सबै इकाईहरूमा राष्ट्रपतिको प्रतिलिपिसहित सेनापति कटवाल यथावत् रहेको जानकारी पठाए ।सोमबार यसै विषयमा पीएसओजलाई सेनापति कटवालको कार्यकक्षमा बि्रफिङ दिइएको थियो । तर त्यसमा खडका कार्यालयमै रहेर पनि सहभागी भएनन् । उनलाई जानकारी गराउन गएका उपरथी नेपाल भूषण चन्द र सहायकरथी बीएकुमार शर्मालाई उनले आफूलाई कार्यकारी निकायले कामु नियुक्ति गरेको बताए । तर उनले अघिल्लो दिनमा जस्तो कमान्ड लिने प्रयास गरेनन् ।दिनभर आफ्नै कार्यकक्षमा रहेका रथी खड्का दिउँसो तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको घोषणा गरेको केहीपछि कार्यालयबाट बाहिर निस्किए । पछिल्ला दिनमा उनको कार्यालयका सहकर्मीहरूसँग समेत भेटघाट र छलफल छैन । भुइँतलामा रहेको बलाध्यक्षको कार्यकक्षमा आउने र जाने नियमित प्रक्रियामा नै उनी छन् ।यही बेला माओवादी अध्यक्षले डेढ वर्षअघि शक्तिखोरस्थित माओवादी मुख्य शिविरमा आफ्ना लडाकुहरूलाई गरेको प्रशिक्षण सार्वजनिक भयो । उनले त्यसमा माओवादीको सेना समायोजन, लडाकु तथा सत्ता कब्जा गर्ने सम्बन्धमा महत्त्वपूर्ण विषयहरू खुलासा गरेका छन् । दुई भागमा रहेको उक्त भिडियोलाई पनि उपत्यकामा रहेका प्रमुख सेनानीभन्दा माथिका अधिकृतहरूलाई मंगलबार र बुधबार गरेर जंगी अड्डामा प्रदर्शन गरिएको थियो । खड्का त्यसमा पनि सहभागी भएनन् । त्यतिमात्र होइन, बिहीबार जंगी अड्डाले विभिन्न मुलुकका सैनिक सहचारीहरूलाई बोलाएर दिएको बि्रफिङसमेतमा उनको सहभागिता थिएन ।

No comments: