News

May 9, 2009

दलहरु राष्ट्रिय सरकार गठन गर्न असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २६- राष्ट्रपति रामवरण यादवले तोकेको समयभित्र राष्ट्रिय सरकार गठन गर्न दलहरु असफल भएका छन्। सहमतिको सरकार निर्माणबारे मुख्य राजनीतिक दलहरुबीच सहमतिको सरकार गठनबारे छलफल हुन नसक्दा सरकार गठनबारेको अनिश्चत बनेको छ। राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८१ अनुसार सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका-संसद् सचिवालयलाई गत मंगलवार पत्र पठाएका थिए जसको म्याद शनिबार मध्य रातमा सकिएको छ। धारा ३८१ मा लेखिएको छ 'राजनैतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ।'
राष्ट्रिय सरकार सरकार गठनका विषयमा एकीकृत नेकपा माओवादीसँग काँग्रेस एमालेसँग छलफल समेत भएको छैन। संविधानसभामा सबैभन्दा ठूलो दल माओवादीका प्रवक्ता दिनानाथ शर्मा आफ्नो दलले समय थप्न राष्ट्रपतिलाई अनुरोध नगर्ने जानकारी दिए। गत साउन अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सरकार गठनको लागि पहल गर्न २ दिन समय थप मागेका थिए।
नागरिक सर्वोच्चता र लोकतन्त्रलाई संस्थागत बनाउने प्रश्न प्रमुख भएकाले राष्ट्रपति यादवले गल्ती नसच्याएसम्म सरकार गठनको लागि पहल नगर्ने शर्माले जानकारी दिए। 'राष्ट्रिय सरकार गठनका विषयमा काँग्रेस-एमालेसँग कुराकानी भएको छैन'- शर्माले भने।
नेपाली कांग्रेसका सचेतक शोभाकर पराजुलीले राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिसमक्ष थप समय माग गर्ने विषयमा अनभिज्ञता प्रकट गरे। एमालेको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने त्यसमा माओवादी पनि सहभागी हुनुपर्ने निर्णय कांग्रेसले यसअघि नै सार्वजनिक गरिसकेको छ।
कांग्रेसले एमाले नेतृत्वमा सरकारको निर्णय गरे पनि शनिबारसम्म एमाले केन्द्रीय कमिटी आन्तरिक छलफलमा नै व्यस्त रह्यो। बैठकमा सहभागी रहेकै अवस्थामा एमाले संसदीय दलका उपनेता सुरेन्द्र पाण्डेले नागरिकसँग भने 'अहिलेसम्म राष्ट्रपतिसँग थप समय माग्ने बारेमा कुरा भएको छैन।' एमाले केन्द्रीय कमिटीको शनिबारको बैठक आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका विषयमा केन्द्रित रहेकाले सहमतिको सरकार गठन गर्न समय थप हुने संभावना छैन।
दलहरुले शनिबारसम्म राष्ट्रिय सरकार गठन गर्न नसके संविधानको धारा ३८२ अनुसार बहुमतको सरकार निर्माणको प्रक्रिया सुरु हुने संसद् सचिवालयका कानुनी सल्लाहकार सहसचिव टेकप्रसाद ढुंगाना बताउँछन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति रामवरण यादवले आइतबार बिहान संसद् सचिवालयलाई धारा ३८२ अनुसार बहुमतको सरकार गठनका लागि पत्र पठाउनेछ। संविधानको ३८ २ मा लेखिएको छ 'सहमति कायम हुन नसकेमा संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ।'
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको ५ दिन बितिसकेको छ। तर माओवादी सभासद्को अवरोधका कारण व्यवस्थापिका संसद्को बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको व्यहोरासहितको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनसम्म पाएका छैनन्। ढुंगाना भन्छन् 'सदनले अझै औपचारिक जानकारी पाएको छैन औपचारिक रुपमा जानकारी नगराएसम्म नयाँ सरकार गठनको प्रकिया सुरु गर्न सक्दैन।'प्रधानमन्त्रीले राजीनामा दिएपछि बोलाइएका दुई वटा बैठक माओवादी सभासद्ले रोष्टम घेर्दै नारावाजी गरेपछि स्थगित भए । एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले 'राष्ट्रपति सरकारले अवकास दिएका प्रधानसेनापतिलाई पदमै रहेर काम गर्न आदेश फिर्ता नगरुन्जेल सदन चलन नदिने घोषणा गरेका थिए। संसद्को अर्को बैठक आजै ३ बजे बोलाइएको छ। प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया व्यवस्थापिका-संसदबाट अघि बढाउनुपर्ने कानूनी प्रावधान छ। त्यसैले नयाँ सरकार गठन अनिश्चित भएको छ।
सभामुख नेम्वाङले प्रधानमन्त्री निर्वाचनको तयारीका लागि बुधवार १ बजे बोलाएकॊ कार्यव्यवस्था परामर्श समितिको बैठक पनि माओवादी प्रनिनिधिले नबस्ने बताएपछि स्थगित भयो। त्यसपछि सभामुख नेम्वाङले परामर्श समितिको बैठक समेत गर्न सकेका छैनन्।सरकारले अवकाश दिएका प्रधानसेनापति रुक्मांगत कट्वाललाई पदमै रहेर काम गर्न राष्ट्रपतिले आदेश दिएपछि 'द्वैध शासनको अन्त्य गर्न' प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख २१ गते राजीनामा दिएका थिए।

No comments: