News

May 9, 2009

दक्षिण अफ्रीकाका नवनिर्वाचित राष्ट्रपति ज्याकोब जुमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण अफ्रीकाका नवनिर्वाचित राष्ट्रपति ज्याकोब जुमाले शनिबार पदको शपथग्रहण लिएका छन् । उनले जनताको सपनालाई विपनामा परिणत गर्ने र लोकतन्त्रलाई बलियो पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शपथग्रहण समारोह हेर्न जम्मा भएका हजारौं जनताको भीडले आफ्ना नयाँ राष्ट्रपतिको सम्मानमा ताली बजाए । 'हाम्रो देशका जनताको सपना र आकांक्षा अवश्य पनि पूरा हुनुपर्छ,' शपथग्रहण गर्दै जुमाले भने । दक्षिण अफ्रीकामा १५ वर्षअघि मात्र रंगभेद समाप्त भएको थियो । त्यसयता उनी चौथा राष्ट्रपति हुन् । जुमाको पार्टी अफ्रीकन नेसनल कंग्रेस (एएनसी) ले गत महिना भएको संसदीय चुनावमा विजय हासिल गरेको थियो । संसद्ले ज्याकोव जुमालाई गत हप्ताको बुधबार राष्ट्रपति चयन गरेको हो । दक्षिण अफ्रीकामा अहिले पनि एक चौथाइ जनता बेरोजगार छन् । प्रत्येक वर्ष एक हजार जनताको मृत्यु एड्सबाट हुने गर्छ । जुमाले जनतालाई आवासको व्यवस्था छिटो गर्ने, स्कुल, क्लिनिक, पिउने पानी र बिजुलीको व्यवस्था गर्ने वाचा गरेका छन् । जुमाको शपथग्रहण समारोहलाई जनताले निकै महत्त्व दिएका छन् । बाल्यकालमा जुमा गोठाला थिए । उनी सानैछँदा बाबुको मृत्यु भएकाले जुमाले पढ्न पाएनन् । परिवारलाई आर्थिक सहयोग गर्नका लागि १५ वर्षदेखि नै उनले कठिन काम गर्नुपरेको थियो । उनले सन् १९५९ मो एएनसी पार्टीमा प्रवेश गरे । उनी रंगभेदविरोधी आन्दोलनमा १० वर्ष जेलमा परे । नेल्सन मन्डेला तथा रंगभेदविरोधी नेताहरू पनि उनीसँगै जेलमा थिए । अन्य कैदीसँगै उनले पनि जेलमै शिक्षा लिए । १९७५ मा १५ वर्षका लागि उनले स्विजरल्यान्ड, मोजाम्बिक र जाम्बियामा निर्वासित जीवन बिताएका थिए । १९९० मा एएनसीमाथिको प्रतिबन्ध खुला भएपछि उनी दक्षिण अफ्रीका फर्के । थाबो एम्बेकीले उनलाई १९९९ मा उपराष्ट्रपति चयन गरेका थिए । तर, २००५ मा उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि राष्ट्रपतिले जुमालाई बर्खास्त गरे । पछि पार्टीमा एम्बेकीको भन्दा जुमाको नेतृत्व बलियो हुन गयो । र अहिले उनले लोकपि्रय राष्ट्रपतिका रूपमा देखिने कसरत गरिरहेको मानिन्छ ।

No comments: