News

May 16, 2009

पन्चैबाजा बाहुन-क्षेत्रीले बजाउन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थुम्पाखर (सिन्धुपाल्चोक), २ जेठ विवाह, ब्रतवन्धलगायतका शुभकार्यमा बाजा बजाउन दलित नै चाहिन्छ भन्ने छैन । परम्परावादी मान्यता र संस्कार तोड्दै थुम्पाखर गाविस-८ टिमुरेका गैरदलितले बाजा बजाउन थालेका छन् । गाउँमा हुने विवाह, ब्रतवन्धलगायतका कार्यमा पन्चैबाजा बजाएर स्थानीय गैरदलितले नमुना प्रदर्शन गरेका हुन् । मौलिक संस्कृतिको जगेर्ना गर्न बाजा बजाउन थालेको उनीहरू बताउँछन् । 'सीप भएकाहरू लाज मान्न थाले, संस्कृति खतरामा परेपछि हामी तातेका हौँ', गाउँको एक विवाहमा भाका फेरीफेरी सनाई फुकिरहेका स्थानीय कृष्णबहादुर थापाले भने । स्थानीय कौल्दौङदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष थापाले थपे, 'गाउँमा पश्चिमा संस्कृतिको नक्कल हुन थालेकाले आफ्नै मौलिक संस्कृति जोगाउन लागिपरेका छौँ ।' कौल्दौङदेवी माविले ११ हजार रुपैयाँ खर्चेर बाजाको चाँजोपाँजो मिलाइदिएपछि गैरदलितले बाजा बजाउन थालेका हुन् । विद्यालयले बाजा बजाउन जान्ने आठजनाको टोली तयार गरेको छ । टोलीमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र अभिभावक छन् । गाउँमा विवाह, ब्रतवन्धजस्ता शुभकार्य आउनासाथ उनीहरू कर्नल, सनाई, दमाहा, ट्याम्का, ढोलकी र झ्याम्टा बोकेर बाजा बजाउन निस्किहाल्छन् । 'तीन बिहे र एक ब्रतवन्धमा बाजा बजाइसक्यौँ,' ट्याम्का बजाउने जिम्मा पाएका प्रधानाध्यापक सानुकाजी थापाले उत्साही हुँदै भने, 'छिमेकी गाउँबाट समेत बाजा बजाउन माग हुन थालेको छ ।' गत माघबाट बाजा बजाउन निस्केको जानकारी दिँदै उनले आवश्यक सीपको प्रयोग गरेर पन्चैबाजालाई ब्यान्डकै रूपमा विकसित गरिने बताए । टोलीले बाजा बजाएर अहिलेसम्म सात हजार रुपैयाँ नगदसमेत संकलन गरेको छ । ट्याम्का ठोक्दै प्रधानाध्यापक थापाले भने, 'अहिलेसम्म पारिश्रमिक लिएका छैनौँ, बाजा बजाएर नाच देखाएबापत नगद संकलन भएको हो । यसले बाजा नै थप्छौँ ।' गैरदलितले बाजा बजाउँदै हिँडेपछि विवाह, ब्रतवन्धमा आउने पाहुना, जन्ती पनि छक्क पर्छन् । 'सबै छक्क परेका छन्,' कर्नल बजाउने जिम्मा पाएका अभिभावक पूर्णबहादुर थापा भन्छन्, 'सुरुमा त कटवाल भनेर जिस्क्याउनु जिस्क्याए, तर अहिले सबै खुसी भएका छन् । हामीले बाजा बजाउन जानेपछि विवाह, ब्रतवन्ध हुने घरमा अन्यत्रभन्दा बढी भीडभाड देखिन्छ ।' पूर्वसैनिकसमेत रहेका थापाले कसैले नगरेको काम गर्दा सुरुमा अप्ठ्यारो लागे पनि अहिले बानी परेकाले रमाइलो लाग्ने अनुभव सुनाए । विद्यालयले बाजा ल्याएपछि उनीहरूले घर-घर लगेर बजाउन सिकेका थिए । गैरदलितले बजा बजाउन थालेपछि यसअघि पेसा अँगाल्दै आएका कटवालहरूले भने गुनासो गरेका रहेछन् । 'आफूहरूको मागीखाने भाँडो विष्टले लुट्न थाले भनेर उहाँहरू रिसाउनु पनि भयो,' अध्यक्ष थापाले भने, 'त्यसो गर्न खोजेका होइनौँ, संस्कृतिको जगेर्ना गर्न र समाजमा आवश्यक पर्दा बाजा जसले बजाए पनि हुन्छ भनेर सन्देश दिन खोजेका हौँ ।'

No comments: