News

May 16, 2009

एमालेको पक्षमा २९२ सभासद्को हस्ताक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २ गते । नयाँ सरकार गठनको गृहकार्यमा लागेको नेपाली काङ्ग्रेस-नेकपा एमाले गठबन्धनले सोमबारसम्म नयाँ सरकार गठन हुने दाबी गरेको छ ।शुक्रबारसम्म २९२ सभासद्को हस्ताक्षर जुटाएको त्यस गठबन्धनले शनिबार पनि सत्ता समीकरणलाई मूर्त रूप दिन छलफल र उच्चस्तरीय भेटघाटलाई जारी राख्यो ।नयाँ सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत (कम्तीमा ३०१) पुग्नेमा गठबन्धन स्रोतको विश्वास छ । मौखिक आश्वासनअनुसार सभासद्को हस्ताक्षर प्राप्त नभए पनि विस्तारै स्थिति सुदृढ बन्दै आएको स्रोतले बताएको छ ।साना दललाई समेटेर सरकार बनाउने गृहकार्यमा लागेको गठबन्धनलाई नेपाल मजदुर किसान पार्टीले १८ वटा विषय अगाडि सार्दै ससर्त समर्थन दिने जनाएको छ । नेमकिपाका पाँच सभासद् छन् ।शनिबार नै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धनका पाँच दलको बैठकमा सत्ता समीकरणको ताजा स्थितिका बारेमा छलफल भएको जानकारी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले गोरखापत्रलाई दिनुभयो ।उपाध्यक्ष त्रिपाठीले नयाँ सरकार गठनका लागि बहुमत पुग्छ भन्दै पर्सिसम्म नयाँ सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिले नयाँ सरकार छिट्टै बन्ने विश्वास व्यक्त गर्दै मधेसी जनअधिकार फोरमका शीर्ष नेताहरूसँग विभिन्न चरणमा कुरा भइरहेको बताउनुभयो ।उहाँले सभासद्को हस्ताक्षर ३०१ भन्दा बढी हुनासाथ सभामुखलाई बुझाउने जानकारी दिँदै अवरुद्ध सदन सुचारु गर्ने विषयमा पनि गठबन्धन दलबीच विचारविमर्श भएको जानकारी दिनुभयो ।सिंहदरबारको छलफलमा नयाँ सरकारको नेतृत्व गर्नुहुने नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव शङ्कर पोखरेल, नेता भरतमोहन अधिकारी, मुख्य सचेतक भीम आचार्य, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, नेता महेन्द्र यादव, सद्भावना पार्टीका नेता अनिल झालगायत सहभागी हुनुहुन्थ्यो ।शनिबार नै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नयाँ सरकारको नेतृत्वले व्यक्त गर्नुपर्ने १८ बुँदे प्रतिबद्धतापत्र हस्तान्तरण गर्नुभयो ।नयाँ सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने निर्णय गर्ने अधिकार केन्द्रीय समितिको बैठकले सचिवालयलाई सुम्पेको जानकारी दिँदै अध्यक्ष बिजुक्छेले सरकारको नेतृत्व गर्नेले १८ बुँदाप्रति प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।ती १८ बुँदामा खानेपानीको हाहाकार अन्त्यका लागि स्थानीय स्रोत परिचालन, लोडसेडिङ हटाउन ससाना जलविद्युत् आयोजना निर्माणमा जोड दिनुपर्ने, फोहोरमैलाको समस्या, महँगी नियन्त्रण, सडक जाम हटाउने, शान्तिसुरक्षा सुदृढ गर्ने, स्थानीय निकायको निर्वाचन गरिनुपर्नेलगायत विषय रहेका छन् ।यस्तै भ्रष्टाचारको अन्त्य गरी जनतालाई राहत दिनुपर्ने, क्रान्तिकारी भूमिसुधार लागू गरी जग्गा जोत्नेलाई दिनुपर्ने, नियुक्तिमा भागबन्डा भन्दा योग्यलाई प्राथमिकता दिनुपर्ने, २५ सभासद् बराबर एक मन्त्री हुने व्यवस्था गरिनुपर्ने, सरकार सञ्चालनका लागि निर्देशक समिति बन्नुपर्नेलगायत छन् ।नयाँ सरकारको गठनकै विषयलाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेताहरूसँग शनिबार परामर्श गर्नुभएको छ ।

No comments: