News

May 16, 2009

उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको प्रमुख दल माओवादीले चौथो ठूलो दल मधेसी जनअधिकार फोरमलाई सरकारको नेतृत्वमा पुर्‍याउने मनस्थिति मात्र बनाएको छैन, त्यसका लागि अन्य दलहरूसित लबिङ नै गर्न थालेको छ । माओवादी-फोरमको अघोषित गठबन्धनपछि सत्तासमीकरणको खेल शुक्रबारदेखि स्पष्ट दुई धारमा बाँडिएको छ । माओवादीले फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकार गठन गर्न शुक्रबार कांग्रेससँग प्रस्ताव गर्‍यो । यता, फोरम अध्यक्ष यादवले सरकारको नेतृत्वकै विषयमा शुक्रबार साँझ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँग बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्री पदका प्रमुख प्रत्याशीका रूपमा उभिएका एमाले वरिष्ठ नेता माधव नेपाललाई समर्थन नगर्ने निर्णयमा पुगेको माओवादीले फोरमलाई सरकारको भावी नेतृत्वमा पुर्‍याउन सघाउने वचन दिइसकेको छ । यससम्बन्धमा अहिलेसम्म औपचारिक निर्णय भने गरेको छैन । आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको फोरमका अध्यक्ष यादवको एमाले नेता नेपालसित प्रधानमन्त्री पदमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अन्य मधेसवादी दलले नेपालको नेतृत्वलाई समर्थन गरिसके पनि मधेसी दलबाटै प्रधानमन्त्रीको उम्मेदवारी परेमा उनीहरूले समर्थन बदल्न सक्छन् । माओवादी र सबै मधेसी दलको भोट पाएमा उपेन्द्र यादवले एमाले नेतालाई प्रधानमन्त्री पदमा पछि पार्ने देखिन्छ । संविधानसभामा ५२ सिट रहेको फोरमलाई प्रधानमन्त्री दिने माओवादी अभियानले संसदीयकालको विकृत सत्ता राजनीति स्मरण गराएको छ, जब एमाले र कांग्रेसले पालैपालो पूर्वपञ्चहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई बोकेर प्रधानमन्त्री बनाएका थिए । माओवादी योजनाले मूर्तरूप लिएमा नेपाली जनताले राष्ट्रपति र उपराष्ट्रपतिपछि प्रधानमन्त्रीमा पनि मधेसी अनुहार नै पाउनेछन् भने मन्त्रीमण्डलमा गैरमधेसीको उपस्थिति नगण्य हुनेछ । किनकि माओवादी आफू स्वयंचाहिँ सरकारमा नजाने र फोरमलाई बाहिरै बसेर समर्थन गर्ने मुडमा छ । 'हामीले फोरमका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री पदका लागि समर्थन गर्ने सैद्धान्तिक सहमति गरेका छौँ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, 'यादवका पक्षमा समर्थन गर्न हाम्रा अध्यक्षले शुक्रबार कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर आग्रह गरिसक्नुभएको छ ।' अघिल्लो सरकारलाई ढालेर विस्तारवादको आडमा सरकारको नेतृत्व गर्न खोजेकाले एमालेलाई माओवादीले समर्थन नगर्ने उनले बताए । 'त्यो कठपुतली सरकारभन्दा फोरमलाई प्रधानमन्त्री दिन तयार छौं, यो पार्टीको सहमति हो ।' चुनाव हुने स्थितिमा यादवका पक्षमा माओवादीले मत हाल्ने शर्माले बताए । फोरमका एक वरिष्ठ नेताका अनुसार माओवादीले भावी सरकारको नेतृत्वका लागि फोरमलाई केही दिनअघि नै प्रस्ताव गरिसकेको थियो । त्यही विषयमा फोरम अध्यक्ष यादव र सहअध्यक्ष जेपी गुप्ता शुक्रबार साँझ बालुवाटार गएर लामो छलफल गरे । 'सरकारको नेतृत्वका विषयमा छलफल भएको छ,' फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नयाँ पत्रिकासँग भने, 'कुराकानी भइरहेको छ । औपचारिक रूपमा नै हामी सरकार गठनका बारेमा उहाँहरूसँग छलफल गर्छौ ।' फोरमलाई नेतृत्वका लागि समर्थन गरे पनि राष्ट्रपतिबाट प्रधानसेनापतिको थमौती र कटवाललाई कारबाही गर्ने निर्णयमा आफ्नो अडान यथावत रहेको माओवादीले जनाएको छ । 'हामी बटम लाइन छाड्दैनौं,' शर्माले भने, 'संसद्को बहुमतले राष्ट्रपतिलाई कारबाही फिर्ता गर्न बाध्य गर्छौं र सडक आन्दोलन पनि जारी राख्छौं ।' स्रोतका अनुसार प्रचण्डसँगको भेटमा फोरमका नेताहरूले राष्ट्रपतिको कदमका बारेमा सर्वोच्च अदालतले गर्ने फैसलालाई पर्खिनुपर्ने धारणा शुक्रबार राखेका थिए । तर, माओवादी नेताहरूले भने अघिल्लो सरकरले गरेको निर्णयको समर्थनमा लिखित प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग गरेको स्रोतले बतायो ।

No comments: