News

May 13, 2009

एउटै महिलाले पटक-पटक गर्भपतन गराउन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सुरक्षित गर्भपतन गराउन पाउने कानुन ल्याएपछि एउटै महिलाले पटक-पटक गर्भपतन गराउन थालेका छन् । एउटी महिलाले सातपटकसम्म गर्भपतन गराएको गर्भपतन सेवा दिँदै आएका चिकित्सकले बताएका छन् ।महिलाहरूले सातपटक गर्भपतन गरेको आफूले पाएको बताउँदै परिवार नियोजन संघ बुटवलमा कार्यरत डा. श्याम उपाध्यायले भने, 'काठमाडौंमा ६-७ पटक गर्भपतन गराउन आउने पनि छन्, यही (बुटवलमा) पनि चारपटकसम्म गर्भपतन गराउन आउने महिला छन् ।' महिलालाई गर्भपतन सम्बन्धमा बढी अधिकार दिएकाले बढी सोधिखोजी गर्न नमिल्ने उनले बताए । 'हिजोआज पटक-पटक गर्भपतन गराउन आउने महिलाको संख्या थपिँदै गएको छ,' डा. उपाध्यायले भने । भर्खर क्याम्पस पढ्दै गरेका युवतीहरू बढी मात्रामा गर्भपतन गराउन आउने उनले जानकारी दिए । धेरैपटक गर्भपतन गराउँदा पाठेघरमा असर पर्ने हुँदा सकेसम्म गर्भपतन नगराउनु नै राम्रो हुने सल्लाह पनि डा. उपाध्यायले दिएका छन् । तर, गर्भले जोखिम निम्त्याउँदै छ भन्ने लागेमा सुरक्षित रूपमा गर्भपतन गर्नुपर्ने उनको भनाइ छ । गर्भमा छोरा/छोरी के छ भन्दै जाँच्न भारतका गोरखपुरलगायतका सहरमा धाउनेप्रति डा. उपाध्याय भन्छन्, 'एमिनो सेन्टेसिस गराउँदा स्वास्थ्यलाई फाइदा पुर्‍याउँदैन । प्यारालाइसिसको समस्या हुन सक्छ ।'०६० देखि सुरक्षित गर्भपतन गराउन पाउने कानुन ल्याएपछि रुपन्देहीका लुम्बिनी अञ्चल अस्पताल, नेपाल परिवार नियोजन संघ, लुम्बिनी नर्सिङ होम, बुटवल अस्पताल प्रालि र मेरी स्टोप बुटवलले गर्भपतन गराउने मान्यता पाएका छन् । सरकारी नियमअनुसार १२ हप्तासम्मको गर्भ महिलाले सुरक्षित रूपमा गर्भपतन गराउन पाउने व्यवस्था छ । जिल्लामा सबैभन्दा बढी गर्भपतन गराउन आउनेमा नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा भएको दाबी सो कार्यालयले गरेको छ । सो कार्यालयमा सन् २००४ मा ४६, २००५ मा एक सय ४८, २००६ मा दुई सय चार, २००७ मा पाँच सय ८२, २००८ मा नौ सय १४ र सन् २००९ को चार महिनामा तीन सय ६४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । संघमा सुरक्षित गर्भपतन गराउन आउनेमा १४ वषर्ीया किशोरीदेखि ४९ वर्षीयासम्मका रहेको संघकी सुपरभाइजर निरू बज्राचार्यले बताइन् । संघमा सन् २००८ मा सुरक्षित गर्भपतन गराउने नौ सय १४ जनामध्ये १४ देखि १९ वर्ष उमेर समूहका ४६ जना, २० देखि २४ उमेरका दुई सय ४० र २५ वर्षमाथिका ६ सय २८ जना रहेका छन् । किशोरी अवस्थामा गर्भपतन गराउनेहरूमा विद्यालय र क्याम्पसमा अध्ययन गर्ने युवतीहरू बढी भएको संघको तथ्यांक छ । संघमा गर्भपतन गराउन आउने महिलाले एक हजार ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । संघले गर्भपतनसँगै महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । जसका लागि जिल्लाको भलबारी, सालझन्डी र सौ-फर्साटिकरमा सामुदायिक क्लिनिक हर्नैया, मैनहिया, रुद्रपुर, खड्वा बनगाई, मक्रहर र दूधराक्षमा साप्ताहिक क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरेको शाखा प्रबन्धक दिनेशकुमार जोशीले बताए ।

No comments: