लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रजेना गाविसकी १३ वषीया अनुराधा नेपालीको गत २ चैतमा गुमी गाविसका धनबहादुर मिजारसँग विवाह भयो । तर, उनीहरूको दाम्पत्य जीवन पाँचौं दिनमै रोकियो । ७ चैतमा जिल्ला प्रहरी कार्यालय पुगेका दुवैले एउटा कागजमा हस्ताक्षर गरे, जसमा लेखिएको थियो, 'हामी दुवैजना विवाह गर्ने उमेर नपुगुन्जेलसम्म अलग-अलग बस्न मञ्जुर छौँ ।' सुर्खेतका ग्रामीण बस्तीमा उमेर नपुग्दै विवाह गर्ने र त्यसको केही समयपछि छुट्टा-छुट्टै बस्ने क्रम बढेको छ । स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्थाले सन् २०१० सम्म सुर्खेतलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएअनुरूप बालदम्पत्तिलाई अलग्याइएको हो । सो अभियानमा लागेको गैरसरकारी संस्था सुरक्षित समाजका अनुसार गत मंसिरयता बालविवाह गरेका नौवटा जोडी वैवाहिक बन्धनबाट छुट्टीई आ-आफ्नो घरमा बसेका छन् । विवाह गरेर पनि छुट्टाछुट्टै बस्ने निर्णय गरेका बालबालिकाले बाध्यतावश छुट्टीनुपरेको बताउँछन् । मैनतडाकी १४ वर्षीया सीता विकले भनिन्, 'एउटा बाध्यताले हाम्रो विवाह भएको थियो, तर त्यसको केही दिनमै छुट्टाछुट्टै बस्ने अर्को बाध्यता आइलाग्यो ।' गत २१ चैतमा लेखफर्साका रोहित रसाइलीसँग विवाह गरेकी उनले त्यसको एक सातापछि चार वर्षका लागि छुट्टाछुट्टै बस्ने निर्णय गरेकी थिइन् । सामाजिक बाध्यताले विवाह गर्नुपरेको र कानुनी बाध्यताले विछोड गराएको विकको भनाइ छ । 'एकदिन भेरीमा पानी लिन जाँदा उनी (रोहित)सँग भेट भएको थियो, तर गाउँमा फलानीले त विवाह गरी भन्दै कुरा काट्न थाले, अनि मैले के गर्ने त ?' स्थानीय नेपाल राष्ट्रिय निमाविमा आठ कक्षामा अध्ययनरत उनले भनिन्, 'तर, अर्को पक्ष -संघसंस्था)ले बालविवाह गरेको भन्दै मुद्दा हाल्ने कुरा गरेपछि छुट्टनिे कागज गर्नुपर्यो ।' प्रायः बालबालिका विकको जस्तै परिबन्धले सानै उमेरमा विवाह गर्न र लगत्तै 'छोडपत्र' गर्न बाध्य भएका छन् । मैनतडाकी १४ वर्षीया ललिता बुढाले पनि गत ९ चैतमा मेहलकुना प्रहरी चौकीमा कार्यरत जवान रामबहादुर भण्डारीसँग विवाह गरेकी थिइन् । घरका मान्छेले अर्को केटोसँग विवाह गर्न कर गरेपछि उनले बाध्य भएर विवाह गरेको बताएकी थिइन् । बालविवाहमुक्त अभियानकर्ताले छुट्टाछुट्टै बस्न राजी नभएमा भण्डारीको जागिर नै जाने त्रास देखाएपछि उनीहरूले चार वर्षपछि मात्र दाम्पत्य जीवन सुरु गर्ने कागजमा सही गरेका छन् । बालविवाह गरेकालाई अलग्याउनु ठूलो सफलता भएको अभियानकर्ता ठान्छन् । मैनतडा गाउँ बालसंरक्षण समितिका सचिव भीमप्रसाद पौडेल भन्छन्, 'हामीले सकभर विवाह हुनै नदिने र भइहाले पनि 'क्यान्सिल' गराउने रणनीति अवलम्बन गरेका छौँ ।' उनका अनुसार गत मंसिरयता मैनतडामा मात्र १७ वटा बालविवाह भएका छन् । तीमध्ये दुईजोडी मात्र छुट्टाछुट्टै बस्न सहमत भएका छन् । सन् २०१० सम्म सुर्खेतलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्न गत ४ कात्तिकदेखि अभियान थालिएको हो । बालविवाहमा भने कमी आएको छैन । अभियान अवधिमै पूर्वी सुर्खेतको मैनतडामा १७, घुमखहरेमा ३१, लेखफर्सामा आठवटा बालविवाह भएका छन् । सुरक्षित समाजका कार्यक्रम संयोजक कौशिला चन्द भन्छिन्, 'केस' बाहिर आएकाले बढेको देखिए पनि वास्तवमा बालविवाहमा निकै कमी आएको छ ।' कानुनमा दण्ड दिने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा बालविवाहमा कमी नआएको यस क्षेत्रमा लागेकाहरू बताउँछन् । जिल्ला बालसंरक्षण समितिका बालसंरक्षण अधिकृत रमादेवी भण्डारी भन्छिन्, 'हामीले बालविवाह गर्नेलाई कारबाही गराउन विगतमा थुप्रै प्रयास गर्यौँ, तर प्रहरीको सहयोग नहुँदा सफल भएनौँ ।'
No comments:
Post a Comment