News

May 9, 2009

आज विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २६ गते । "अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो ... ।" कालजयी यस्ता अनन्त सन्देशका वाहक गौतम बुद्धको २५५३औँ जयन्ती शान्तिको कामना गर्दै आज मनाइँदै छ ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले एसियाका प्रकाश बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।वि.सं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदाको तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।नेपालको लुम्बिनीमा जन्मेका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ । तिनमा इङ्ल्यान्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडबिन आर्नोल्डको 'एसियाको ज्योति -१८७९)' तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको 'बुद्ध र उनको धम्म -१९५७)' र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हर्मन हेस्सेको 'सिद्धार्थ -१९२२)' प्रसिद्ध छन् ।यसैगरी, जर्मनीका माथेरा न्यानातिलोकाले 'बुद्धिस्ट डिक्सनरी' -१९५०), 'विश्वमा बुद्ध' -१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको 'बुद्धको विचार' -१९५९), इटलीका जिसेप्पे टिउचिलेको 'मुस्ताङको भ्रमण' -१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महìवपूर्ण भूमिका निर्वाह गरेका छन् ।विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्बि्रज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन अध्यापन हुादै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि स्नातकोत्तर(एमए) मा बौद्ध शिक्षाको अध्यापन गर्दै आएको छ ।बुद्धका उपदेशलाई धर्मका रूपमा भन्दा पनि समाजका उन्नतिका लागि आवश्यक पर्ने अर्थशास्त्र, चिकित्साशास्त्र, राजनीतिशास्त्र आदिका मार्गदर्शन तत्वका रूपमा बढी सान्दर्भिक हुने मत रहेको छ ।अन्तर्जगत्का कुशल चिकित्सक तथा बाहृयजगत्का कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन 'विनय', 'सुत्त', 'अभिधम्म', 'त्रिपिटक' आदि पुस्तकमा सङ्ग्रहित छ ।सम्राट् अशोकले इ.पू. २४९ मा 'हित बुद्ध जातेती लुम्बिनी ग्रामे' भनी ब्राहृमी लिपिमा पाली भाषामा लेखेको अशोकस्तम्भ पत्ता लागेको एक शताब्दी नाघिसकेको छ ।तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशमशेर राणाले सिकार खेल्न जादा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा चर्चामा ल्याइएको थियो ।यसपछि सन् १९५६ मा चौथो विश्व बौद्ध सम्मेलन नेपालमा आयोजना गरिएको थियो भने सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको पाइन्छ ।

No comments: