News

May 9, 2009

अमेरिकामा ३५ लाख बालबालिका भोकमरीको जोखिममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ संयुक्तराज्य अमेरिकामा पाँच वर्षमुनिका ३५ लाख बालबालिका भोकमरीको जोखिममा रहेको गैरसरकारी संस्था फिडिङ अमेरिकाले बताएको छ । भोकमरीको जोखिममा रहेका अमेरिकाका १७ प्रतिशतभन्दा बढी बालिकाका बौद्धिक तथा शारीरिक विकासमा असर पर्ने पनि संस्थाले बताएको छ । अमेरिकाका ११ राज्यका २० प्रतिशतभन्दा बढी पाँच वर्षमुनिका बालबालिका भोकमरीको जोखिममा रहेका छन् । लुजियाना सबैभन्दा जोखिममा परेको राज्य हो । त्यहाँ एक चौथाइ बालबालिका जोखिममा रहेका छन् । दोस्रो स्थानमा नर्थ क्यारोलाइनाका बालबालिका जोखिममा रहेका छन् । यसैगरी ओहायो, केन्टुकी, टेक्सास , न्युमेक्सिको, कान्सास, साउथ क्यारोलाइना, टेनिजी, इदाहो र अर्कान्ससका बालबालिका भोकमरीको जोखिममा रहेका छन् । गैरसरकारी संस्था फिडिङ अमेरिकाले आफ्नो अध्ययन २००५-२००७ को तथ्यांक विभाग तथा कृषि विभागको तथ्यांकमा आधारित गरेको छ । कृषि विभागका अनुसार गत वर्ष संयुक्तराज्य अमेरिकाका ११ प्रतिशत घरपरिवारमा पूर्ण स्वास्थ्य विकास तथा क्रियाशील जीवनका लागि चाहिने खाना खाएका थिएनन् । आर्थिक मन्दीको यो अवस्थामा शरीरलाई चाहिने पर्याप्त खाना खानेको संख्या अझ घट्ने निश्चित छ । पर्याप्त पोषययुक्त खानेकुरा खाना नपाएका यी बालबालिकाको बौद्धिक, मानसिक र शारीरिक जीवनमा दीर्घकालीन असर पर्ने फिडिङ अमेरिकाका अध्यक्ष भिक्की इस्कारा बताउँछिन् । विशेष गरेर बालबालिकाप्रति लक्षित भएका खाद्य बैकंको सहायता कोष बढाउन कंग्रेस र ह्वाइट हाउसलाई आफ्नो संस्थाले दबाब दिइरहेको पनि उनले बताइन् । खाद्य सहयोग बढाउने र सन् २०१५ वर्ष बालबालिका भोकमरी हटाउने प्रतिबद्धता राष्ट्रपति बाराक ओबामाले गरेका छन् ।

No comments: