News

Jul 3, 2008

तीन दलबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान संशोधनमा ल्याइने पुरक बिधेयकको मस्यौदाबारे माओवादी, नेपाली कांग्रेस र एमाले सहमतिमा पुगेका छन् । मधेशवादी दलहरुको माग सम्बोधन गरी बिधायिका बैठक सुचारु बनाउन सिंहदरवारमा दिनभरी चलेको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुको बैठकले आफूले तयार पारेको मस्यौदालाई मधेशवादी दलहरुसंग छलफल गरी असार २० गते अन्तिम रुप दिने निर्णय गरेको छ । असार १९ गते सिंहदरवार शान्ति मन्त्रालयमा भएको तीन दलको छलफल सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले असार २० गते बिहान ८ बजे आफूहरु पुन बैठक बस्ने जानकारी दिए । माओवादी सचिवालय सदस्य देव गुरुङ र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि भोली बिहान हुने बैठकले मस्यौदाबारे अन्तिम टुङ्गो लगाउने उल्लेख गरे । एमाले महासचिव खनालले बताए अनुसार, स्वायत्त प्रदेशबारे मस्यौदामा 'मधेशी, जनजाति, दलित, महिला र पिछडिएका क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीयताको आकंक्षालाई स्विकार गरी' उल्लेख गरिएको छ भने सेनालाई समावेशी बनाउने उल्लेख भए पनि समूहगत प्रवेश शब्द राखिएको छैन । खनालको भनाइलाई पुष्टि गर्दै नेपाली कांग्रेसका उपसभापति पौडेलले सेनालाई पनि प्रहरीलाई जस्तै समावेशी बनाउनेमा सहमति भएको बताए । अन्तरिम संविधानको पाँचौ संशोधनमा पूरक बिधेयक ल्याएर मधेशवादी दलको माग सम्बोधन गर्नेबारे तीन दलमा सहमति भए पनि त्यसलाई मधेशवादी दलहरुले स्विकार गर्लान् वा नगर्लान भन्ने भने स्पष्ट भएको छैन । मधेशवादी दलहरुको अवरोधका कारण असार ११ गतेदेखि संसद बैठक चल्न सकेको छैन भने राष्ट्रपति चयन र नयाँ सरकार गठनमा बिलम्ब भइरहेको छ ।

No comments: