News

Jul 25, 2008

उपराष्ट्रपति झाको पुतला दहन, देशव्यापी विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएको विरोधमा राजधानी उपत्यकालगायत देशव्यापी रूपमा झाको पुतला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिएको छ।मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने काम गरेको र संकीण सोचाइ राखेको भन्दै नागरिक समाज, विद्यार्थी, स्थानीय बासिन्दाले पुतला दहन गरेका हुन्।गणतन्त्र घोषणापछि पहिलो पटक देशको उपराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेका झाले हिन्दी भाषामा शपथ लिएर नेपाल र नेपालीमाथि घोर अपमान गरेको भन्दै देशव्यापी रूपमा विरोध प्रदर्शन गरिएको हो।बिहीबार राजधानीको रत्नपार्क, कोटेश्वर, कलंकी, चाबहिल, थापाथली, बानेश्वर, गोंगबु, अनामनगर, पुल्चोक, सातदोबाटोलगायतका स्थानमा उपराष्ट्रपति झाको पुतला दहन गर्नुका साथै ठाउँठाउँमा टायर बालेर उहाँविरुद्ध चर्का नाराबाजीसमेत गरिएको थियो।प्रदर्शनकारीले उपराष्ट्रपति झाले र्सार्वजनिक रूपमा नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राख्दै माफी नमागे देशव्यापी रूपमा आन्दोलन अगाडि बढाउने घोषणासमेत गरेका छन्।बुधबार हिन्दी भाषामा शपथ लिनुभएका उपराष्ट्रपति झालाई शपथग्रहण समारोहमा नै उपस्थित एमाले नेता जगन्नाथ खतिवडाले हिन्दीमा भाषामा शपथ लिएर जनताको अपमान गरेको भन्दै पटकपटक दुःख प्रकट गर्दा उपराष्ट्रपति झा चुपचाप बसेकोमा आफू साहै्र दुःखित भएको नेता खतिवडाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।उता दाङमा पनि नागरिक समाज, उद्योग वाणिज्य सम्बद्ध संघसंस्थाका व्यक्तिहरू स्वतःस्फूर्त सडकमा निस्केर सदरमुकाम घोराहीमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरूले उपराष्ट्रपति जस्तो साझा अभिभावकको पदमा पुगेको व्यक्तिले अरूलाई खुशी पार्ने नाममा राष्ट्रियतामाथि प्रहार गरेको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन्।पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, डँडेलधुरा, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, नवलपरासी, मकवानपुर, झापा, नेपालगन्ज, इलाम, सुनसरीलगायतका जिल्लामा पनि उपराष्ट्रपति झाको पुतला दहन गरिएको थियो।

No comments: