News

Jul 3, 2008

तीन दल शब्दमा अड्किए अन्योलता कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख ठूला तीन दलले अन्तरिम संविधानको पुरक संशोधन गर्न सहमत भए पनि शब्द विवादका कारण अझै छलफल जारी रहेको छ । मधेसवादी दलको मागबारे तीन दलले छुट्टाछुट्टै ल्याएको प्रस्तावप्रति सहमति जुट्न नसकेपछि हिजो पनि राजनीतिक गतिरोध अन्त्य भएन र अन्योलता कायमै रह्यो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा हिजो दिनभर बसेको बैठकले कार्यदलद्वारा संविधान संशोधनलाई अन्तिम रुप दिन प्रयास गरे पनि मस्यौदामा एकमत हुन सकेनन् । खासगरी तीन दलको बीचमा मधेसलगायत प्रदेशहरूको विभाजन र तिनको स्वायत्तता खोज्ने विषय र सेनामा समूहगत प्रवेशका विषयमा फरक प्रस्तावमा सहमति नजुटेपछि बैठक विनानिष्कर्षसकिएको थियो । नेपाली कांग्रेसले १६ फागुनमा भएको सम्झौतालगायतको शब्दावली राख्न अडान राखेको छ भने एमालेले मधेसी आदिवासी जनजाति र पिछडिएको क्षेत्रका जनताको शब्दावलीमा र माओवादीले मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत भन्ने शब्दावलीबाट मधेस शब्द झिके सहमति हुने अडान लिएको बताइएको छ ।
उता, सेनामा समूहगत प्रवेशको विषयमा पनि तीन दलको फरक मत आएको छ । जसअनुसार नेपाली कांग्रेसले नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसवादीलगायत अन्य समूदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई कानुनमा व्यवस्था भए बमोजिम सुनिश्चित गरिनेछ भनिएको छ । उता, माओवादीले भने नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवासी, जनजाति, दलित, महिला र पिछडिएको क्षेत्रलगायत अन्य समूदायहरूको सहभागिता समावेशी सिद्धान्तका आधारमा कानुनमा व्यवस्था भएबमोजिम सुनिश्चित गरिने छ ।
त्यसैगरी नेकपा एमालेले नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवासी, जनजाति, दलित, महिला, पिछडिएको क्षेत्रलगायत अन्य समूदायहरूको सहभागिता समावेशी सिद्धान्तको आधारमा कानुन बमोजिम सुनिश्चित गरिने उल्लेख छ । यस विषयले गर्दा राजनीतिक अन्योल बढेर गएको छ भने लगातार संविधानसभा बैठक अवरुद्ध भएको छ । यसले राजनीतिक दलहरू सहमतिको राजनीति बिर्से आ-आफ्नै विषयमा डम्फु बजाउँदै आएको प्रमाणित गर्दछ । यद्यपि यसै विषयमा सहमति जुटाउन आज पनि तीन दलको बैठक बस्ने भएको छ ।

No comments: