News

Mar 18, 2009

आउँदो ०६६ साल १२ महिनाकै कायम गर्ने निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो ०६६ साल ११ महिनाको गर्ने कि १२ महिनाको भन्ने सम्बन्धमा लामो विवादपछि अन्ततः ज्योतिषीहरू १२ महिनाकै पात्रो कायम गर्ने निष्कर्षमा पुगेका छन् । यतिखेर बजारमा नयाँ पात्रो र क्यालेन्डरले बजार ढाकिसक्ने अवस्थामा पर्व सुधारका नाममा आउँदो वर्षको चैत महिनालाई ०६७ सालको वैशाख महिनामा मिलान गराउन सरकारले गरेको प्रयास सार्थक नभएपछि ज्योतिषीहरू १२ महिनाको पञ्चांग बनाउन व्यस्त छन् । संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयले नेपाल पञ्चांग निर्णायक समितिलाई आउँदो वर्ष १२ महिनाको क्यालेन्डर बनाउन सुझाव दिइसकेको छ । सूर्यको अयन गति (सूर्यको गतिअनुसार निर्णय लिने पद्धति) वर सर्दै आएकाले ज्योतिष र धर्मशास्त्रको नियम सन्तुलन राख्ने उद्देश्यले गत पुसमा मन्त्रालयले सो कार्यदललाई ११ महिनाको क्यालेन्डर बनाउन निर्देशन दिएको थियो । हरेक दुई हजार एक सय ५० वर्षमा अयन गति एक महिना वर सर्ने भएकाले सूर्यको गतिअनुसार पञ्चांग मिलाउनुपरेको हुँदा आउँदो वर्षको चैतलाई ०६७ सालको अधिक मासमा मिलाउन खोजिएको हो भन्छन् पर्व सुधार कार्यदलका सदस्य-सचिव हरिनारायण मल्ल । शास्त्र, धर्म र परम्पराविपरीत सरकारको यस निर्णयमा असहमत भएका ज्योतिषीहरू भन्छन्- एक सेकेन्ड र एक मिनेटको फरक निस्कँदा त पञ्चांगमा ठूलो असर पर्छ भने पूरै एक महिनाको अन्तर कसरी समायोजन गर्ने भन्ने प्रश्न उठेको छ ।एक महिना हटाउँदा पञ्चांग गणनाको क्रम टुट्न जाने र ०६७ सालको मलमास वैशाखमा विवाह व्रतबन्धको साइत दिन नमिल्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व पनि नेपालमा एक महिनाअघि मनाउनुपर्ने बाध्यता हुन्छ । पूरै एक महिनाको अन्तरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मनाइँदै आएका हाम्रा चाडपर्व, धर्म र संस्कृतिमा पनि असर पर्ने हुँदा शास्त्रसम्मत नभएको यो निर्णय अस्वीकार्य भएकाले बाह्रै महिनाको पञ्चांग बनाउने तयारीमा रहेकेा उनीहरूको तर्क छ । अयन गतिलाई मात्र आधार मानेर पञ्चांगमा विवाद ल्याउन खोजेको बताउनुहुने नेपाल पञ्चांग निणर्ायक समितिका अध्यक्ष डा. माधव भट्टराईको तर्क छ, 'शून्य डिग्रीको कोणबाट सुरु भएको सूर्यको गति अहिले २४ डिग्रीको कोणमा पुगको छ भने यो क्रम २७ डिग्रीको कोणमा पुगेपछि पुनः शून्य डिग्रीकै कोणमा पुग्ने हुनाले पर्व सुधारका नाममा महिना परिवर्तन गर्नु आवश्यक छैन ।' उनले हालसम्म चन्द्रमासका आधारमा मनाइने सबै चाडपर्वलाई अयनांशले असर नपारेको र पञ्चांगबमोजिम तोकिएकै समयमा सूर्यग्रहण तथा चन्द्रग्रहण लाग्दै आएको बताए ।सरकारको निर्णयमा अडिग रहेका उक्त कार्यदलका सदस्य-सचिव मल्ल भारतलगायत धेरै राष्ट्रले संवत् सुधार गरिसकेको बताउँछन् । उनका अनुसार सन् १९५७ मा राष्ट्रिय शक संवत्मा सुधार गरेर भारतले २२ मार्चलाई १ चैत बनाएको र हाल मद्रासका ३० भन्दा बढी मठ मन्दिरले पनि पर्वको समय सुधार गरिसकेका छन् । यसैगरी, चार सय वर्षअघि नेपाल संवत् (नेवारी संवत्) मा पनि छोटो दिन र लामो दिनलाई क्रमशः मंसिर महिना र जेठ महिना उल्लेख गरेको र करिब एक महिनाको अन्तरलाई पनि सुधार गरिसकिएको छ । राष्ट्रिय संवत्मा पनि दिन-रात बराबर हुने वैशाख १ गते अघि सरेर चैत ७ गतेसम्म आइसकेको हुँदा सिंगो एक पूणिर्माबाट अर्को पूणिर्मासम्मको अन्तर हटाउन ठीक हुने सदस्यसचिव मल्लको तर्क छ । नेपाल पञ्चांग निर्णायक समितिसहित त्रिभुवन विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, एघारमहिने पर्वविरुद्ध संघर्ष समिति र ज्योतिष तथा धर्मसँग सम्बन्धित अन्य संस्थाका प्रतिनिधि सहभागी एक भेलाले आउँदो वर्षको पञ्चांग १२ महिनाको बनाउने विषयमा सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

No comments: