News

Mar 28, 2009

तमु स्वायत्त प्रदेश बनाउन गुरुङ समुदायले माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन/ नयाँ संविधानमा तमु स्वायत्त प्रदेश बनाउन गुरुङ समुदायले माग गरेको छ । चितवनमा आयोजित प्रथम तमु एकता महाधिवेशनका सहभागीले यस्तो माग गरेका हुन् । गुरुङ समुदायले जाति, भाषा र क्षेत्रका आधारमा स्वायत्त प्रदेश घोषणा गर्नसमेत माग गरेका छन् । गोर्खा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, मुस्ताङ र मनाङ गरी आठ जिल्लालाई समेटेर तमु स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने उनीहरूको प्रस्ताव छ । 'हामी एकल जातीय पक्षमा छैनौँ,' महाधिवेशन मूल आयोजक समितिका संयोजक डा. रेमबहादुर गुरुङले भने, 'राजनीतिक आधारमा तमु स्वायत्त राज्य घोषणा गरिनुपर्छ ।' तमु छोज धिङका केन्द्रीय सदस्य शिव तामाङले सरकारले माग पूरा नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिए । प्रस्तावित आठ जिल्लामा ५० प्रतिशतभन्दा बढी गुरुङ समुदाय रहेको उनीहरूको दाबी छ । सो महाधिवेशनको शनिबार उद्घाटन गर्दै कानुनमन्त्री देव गुरुङले सरकार जातीय हक-अधिकारको पक्षमा रहेको बताए । उनले संविधानमा जातीय विषयलाई समेट्ने आश्वासनसमेत दिए । महाधिवेशनमा गुरुङ राष्ट्रिय परिषद् र तमु छोज धिङबीच एकीकरण गरी तमु ह्युला धोज धिङ गुरुङ राष्ट्रिय परिषद् नामकरण गरिएको छ । तीन दिनसम्म चल्ने सो महाधिवेशनमा ४७ जिल्लाका करिब हजार प्रतिनिधिको सहभागिता छ ।

No comments: