News

Mar 18, 2009

शव तेस्र्याएर प्रहरी कार्यालय चार घन्टा घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हत्यारालाई प्रहरीले जोगाएको आरोप लगाउँदै सर्लाही कांग्रेसले आफ्ना कार्यकर्ताको शव तेस्र्याएर मंगलबार जिल्ला प्रहरी कार्यालय चार घन्टा घेराउ गर्‍यो । औरही गाविसका पार्टी सभापति एवं निवर्तमान गाविस उपाध्यक्ष ६० वर्षीय ठगा रायको हत्या आरोपमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।दोषीलाई कारबाही गर्ने प्रहरी उपरीक्षक शरद ओलीको प्रतिबद्धतापछि अपराह्न शवको दाहसंस्कार गरिएको सर्लाही कांग्रेसका कार्यवाहक सभापति भिखारी मन्सुरले बताए । आफ्नै छिमेकी रामकैलाश रायसमेतले गत फागुपूणिर्माका दिन कुटपिट गरी ठगाको हत्या गरेको कांग्रेसको आरोप छ ।रामकैलाश पक्षले ठगा पक्षलाई अबिर दलेपछि दुवै पक्षबीच विवाद भएको र झडप हुँदा दुवै पक्षका एक दर्जन घाइते भएको प्रहरीले बताएको छ । सोही क्रममा घाइते भएका ठगाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुँदाहुँदै सोमबार मृत्यु भएको थियो । घटनामा घाइते भएर उपचारका लागि वीरगन्ज गएका रामकैलाश भने त्यहीँबाट फरार भएका छन् । प्रहरी उपरीक्षक ओलीले जिल्ला अस्पतालले बाहिर लान सिफारिस गरेपछि दुवै घाइतेलाई उपचारका लागि छोडेको तर रामकैलाश सम्पर्कविहीन भएको बताए । मृतकका छोराले रामकैलाशसहित ११ जनालाई विपक्षी बनाई प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले स्थानीय उमेश राय र मुकेश रायलाई पक्राउ गरेको छ ।

No comments: