News

Mar 20, 2009

शोकमा डुबेकी बुहारीलाई घर निकाला झापामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छोराको मृत्युपछि झापा सतासीधामको एक परिवारले शोकमा डुबेकी बुहारीलाई घर निकाला गरेको छ । परम्पराअनुसार काजकिरिया गर्नसमेत नदिई सतासीधाम-७ की दुर्गा खरेल घरबाट निकालिएकी हुन् । मृत्युपछि श्रीमान्को लाससमेत हेर्न नदिई ससुरा फनिनाथ दुलालले परिवारका सदस्यको सहयोगमा आफूलाई घर निकाला गरेको पीडित दुर्गाले बताइन् । 'मृत्युपछि उहाँ (श्रीमान्)को मुखसमेत हेर्न दिएनन्,' उनले लिम्बुवान ब्लगसँग भनिन्, 'लासमा दागबत्तीसमेत दिन पाइनँ ।' परिवारले निकालेपछि माइती घर झापाको सुरुंगामा बसेर उनले श्रीमान्को आशौच बारेकी छिन् । नियोजित ढंगले छोरो मारेको आरोप लगाउँदै दुलाल परिवारले दुर्गालाई घरनिकाला गरेको हो । उनका श्रीमान् केबल दुलालको २४ फागुनको राति मृत्यु भएको थियो । लागूऔषध प्रयोगकर्ता भनिएका दुलालको सुधारगृहमा लगिएकै दिन मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुलाल परिवारले दुर्गा र उनकी दिदी सीतामाथि केबललाई मारेको आरोप लगाएको छ । दुलाल परिवारले ३० फागुनमा सोही आशयको जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएको छ । पारिवारिक सहमतिअनुसार दुर्गाकी दिदी सीताको सल्लाहमा ससुरा फनिनाथले दमकस्थित सुधारगृहका कर्मचारीलाई आवश्यक खर्चसहित छोरो जिम्मा लगाएका थिए । श्रीमान्लाई सुधारगृह पठाउँदा दुर्गा माइतीघरमै थिइन् । 'सुधारगृहमा लगेकै दिन राति छोरो मरेको खबर आयो,' फनिनाथले भने, 'उनीहरूकै मिलेमतोमा मेरो छोरालाई मारिएको छ ।' उनले आपनो छोराले बिहेपछि कहिलेकाहीँ रक्सी पिउने गरेको बताए । पारिवारिक सहमतिमा दुई महिना अघि १९ पुसमा दुर्गा र केबलको जातीय परम्पराअनुसार मागीबिहे भएको थियो । बिहे भएको एक सातापछि मात्र श्रीमान् लागूऔषध प्रयोगकर्ता भएको चाल पाएको दुर्गाले बताइन् । 'उहाँलाई सुधार्न मलाई झुक्याएर बिहे गरेका रहेछन्,' दुर्गाले भनिन्, 'सासूले बच्चा पाउन ढिलो नगर्नू भन्दै पटक-पटक दबाब दिनुभयो ।' केवलको मृत्यु हँुदा दुर्गा माइतीघरमै थिइन् । मृत्युको खबरपछि २५ फागुनको बिहान दमकस्थित लाइफलाइन अस्पताल पुग्दा त्यहाँ श्रीमान्को लास नभेटेको उनले बताइन् । उनी पुग्नुअगावै दुलाल परिवारले लास मोरङको उर्लाबारीस्थित मंगलबारे प्राथमिक स्वास्थ्यकेन्द्र पुर्‍याएको थियो । 'रुँदै-कराउँदै त्यहाँ पुग्दा पनि मलाई श्रीमान्को मुख हेर्ने अवसर मिलेन,' दुर्गाले भनिन्, 'उल्टै पुलिस चौकी लिएर आए ।' प्रहरी कार्यालयनजिक आइपुगेपछि ससुरा फनिनाथ तथा जेठाजुहरू पदम र लोकनाथ दुलालले आफूसहित दिदी सीता र माइती पक्षलाई मट्टीतेल खन्याएर आगो लगाउने प्रयास गरेको पनि उनले बताइन् । उनका अनुसार त्यसलगत्तै दुर्गासहित परिवारका सदस्यलाई इलाका प्रहरी कार्यालय दमकले हिरासतमा राखेको थियो । प्रहरीले उनीहरूलाई मलामी जानबाट वञ्चित गर्ने उद्देश्यले हिरासतमा नराखेको जनाएको छ । 'उनीहरूको सुरक्षाका लागि कार्यालयमा राखेका हौँ,' प्रहरी निरीक्षक कमल थापाले लिम्बुवान ब्लगसँग भने, 'हामीले हिरासतमा नराखेको भए त्यहाँबाट अर्का पनि लास निस्कन्थ्यो ।' मृतकका आफन्त र गाउँलेले आक्रमण गर्न खोजेकाले नियन्त्रणमा लिइएको थापाले बताए ।

No comments: