News

Mar 2, 2009

ह्युगो चाभेजले कारखानाहरूमाथि नियन्त्रण गर्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काराकास/ भेनेज्वेलाका राष्ट्रपति ह्युगो चाभेजले आफ्नो सेनालाई देशका धान प्रशोधन कारखानाहरूमाथि नियन्त्रण कायम गर्न आदेश दिएका छन् । चाभेजले सरकारले तोकेको मूल्यमा चामल दिन इनकार गरी केही कम्पनीले बढी मूल्य लिन खोजेको आरोप लगाएका छन् । उनले अन्नको आपूर्तिमा बखेडा खडा गर्ने प्रयास गरेमा केही कारखानालाई राष्ट्रियकरण गर्न सकिने चेतावनीसमेत दिएका छन् । मुलुकको अर्थतन्त्रमा विशाल जमिनलाई राष्ट्रियकरण गरिसकेका चाभेजले सरकारी हस्तक्षेप कहिलेसम्म अन्त्य हुने भन्नेबारे केही बोलेनन् । प्रमुख धान प्रशोधनकर्ताहरूमा अमेरिकी स्वामित्वको कार्गिल र भेनेज्वेलाको मुख्य खाद्य कम्पनी पोलार पनि छन् । गत वर्ष भेनेज्वेलाले निकै ठूलो मानिएको मेक्सिकन सिमेन्ट कम्पनी सिमेक्ससँग आबद्ध अफिस तथा कारखानामाथि नियन्त्रण गरेको थियो । ००७ मा सरकारले चाभेजको राष्ट्रियकरण अभियानको अंशका रूपमा ओरिनोकोपट्टकिा अत्यधिक तेल परियोजनामाथि नियन्त्रण गरेको बताइएको थियो । टेलिभिजनमार्फत सैनिक टुकडीहरूलाई धान प्रशोधन कारखानामा पठाउन लागेको बारे शनिबार घोषणा गर्दा राष्ट्रपति ह्युगो चाभेजले उत्पादकहरूमाथि सरकारी भाउमा आफ्नो चामल बेच्न नसकेको आरोप लगाएका थिए ।'खाद्य उद्योगको त्यस्ता सबै क्षेत्रमा क्रान्तिकारी सरकारका तर्फबाट तत्काल हस्तक्षेप गर्न आदेश दिएको छु, सरकार धनी वा बुज्र्वाजीको संरक्षण गर्न होइन, जनताको संरक्षण गर्न यहाँ उपस्थित छ,' चाभेजको भनाइ थियो । उनले धान उत्पादनलाई घात गर्ने चुनौती दिने कम्पनीहरूको सम्पत्तिहरण गर्न सकिने पनि बताए । 'म तिनको सम्पत्ति खोस्न सक्छु, यसमा मलाई कुनै आपत्ति छैन । म त्यसको बोन्ड तिरुँला । म नगद रकम तिर्छु भन्ने नठान,' कम्पनीको नामै नलिई उनले भने । पछि कृषिमन्त्रीले कम्तीमा एक प्रमुख राष्ट्रिय उत्पादक कम्पनी प्राइमोमाथि सेनाले नियन्त्रण कायम गरेको पुष्टि गरेका छन् । आउँदो ४८ घन्टाभित्र अन्य स्थानमा पनि नियन्त्रण गरिने बताइएको छ । भेनेज्वेलामा सरकारले राज्यद्वारा खोलिएका मर्केलस भनिने बजारमा सुपथ मोलमा खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ । संवाददाताहरूका अनुसार कतिपय चामल, गहुँ, मासु, र दुग्ध उत्पादकहरूले मूल्य निर्धारण नियमले उनीहरूलाई अलिकति पनि मुनाफा राख्न नदिई कंगाल तुल्याएको गुनासो गरेका छन् । मुलुकको मुद्रास्फीति दर दक्षिण अमेरिकामा सबैभन्दा उच्च छ । फलतः चामल, कफीजस्ता खाद्यवस्तुको अभाव हुनाले प्रायः कालोबजारमा बिक्री हुने गरेको छ । चाभेजले तेस्रो पदावधिका लागि खडा हुने अधिकार पाएका छन् र उनी गरिबका लागि सस्तो खानाको व्यवस्था गरिएको हेर्न निकै उत्सुक छन् ।

No comments: