News

Mar 11, 2009

७३ लाख बन्दीहरू अमेरिकी राष्ट्रिय जेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पियु सेन्टरले यो साता प्रकाशनमा ल्याएको एक अध्ययनको तथ्यांकले सबैलाई आश्चर्यचकित तुल्याएको छ जसमा ७३ लाख अमेरिकी अर्थात् हरेक ३१ मध्ये एक अमेरिकी राष्ट्रिय जेल प्रणालीअन्तर्गत रहेको देखाएको छ । यस तथ्यांकमा अमेरिकी बन्दीगृह, कारागार, हिरासत र अन्य स्वरूपको सुधारका लागि निगरानीमा राखिएकाहरू समावेश गरिएका छन् । अध्ययनमा अन्य कुनै पनि देशमा यत्तिका संख्यामा बन्दीहरू नरहेको जनाइएको छ । ती व्यक्तिलाई समूहमा राखिने हो भने इजरायल, होन्डुरस वा वासिङ्टन डिसी राज्यका पूरै बासिन्दाको जनसंख्याभन्दा बढी हुन्छ । ३१ जना एकजनामा 'सुधारमा अमेरिकनको लामो पहुँच' पियु सेन्टरले गत वर्ष गरेको नयाँ अध्ययन थियो । सो अध्ययनले मानिसलाई जेलमा कोचेर अमेरिकाले विश्वको नेतृत्व गरेको निष्कर्ष निकालिएको छ, जसमा सयमा एकजना अर्थात् २३ लाख मानिसलाई बन्दी बनाइएको उल्लेख छ । शताब्दीको अन्तिम चौथाइमा अमेरिकी बन्दीगृहको संख्यामा दुई सय ७४ प्रतिशतसम्म वृद्धि भएको थियो । सोही समय 'सामुदायिक निगरानी' अन्तर्गत कारागार तथा हिरासतमा राखिएकाको संख्या नाटकीय रूपमा बढेको हो । सन् १९८२ मा १६ लाख बन्दी रहेकोमा सन् २००७ सम्म आइपुग्दा सो संख्या बढेर ५१ लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । जर्जिया राज्यमा सबैभन्दा बढी बन्दी छन्, जहाँ प्रत्येक १३ मध्ये एकजना युवा राज्यको कुल युवावर्गको करिब आठ प्रतिशत जेल वा निगरानीमा छन् । ओहायो दोस्रो राज्य हो, जहाँ १८ मध्ये एकजना अर्थात् करिब ६ प्रतिशत यस्तै अवस्थामा छन् । ती दुई राज्यलाई देशको राजधानी वासिङ्टन डिसीले पछ्याएको छ, जहाँ प्रत्येक २१ मध्ये एक करिब पाँच प्रतिशत बन्दी छन् । ठूलो संख्यामा नागरिकलाई 'सुधारका लागि नियन्त्रण' मा राखिएका १० राज्यमा दक्षिणी राज्य लइजियाना, जर्जिया र टेक्सास पनि छन् । ती राज्यमा उच्च बन्दी दर छ । न्यु इंग्ल्यान्ड, म्यासाचुसेट्स, रोडो आइल्यान्डलगायत ओहियो, इन्डियाना र मध्यपश्चिमको मिनेसोटा राज्य पनि ठूलो संख्यामा नागरिकलाई काराबासमा राख्ने राज्यअन्तर्गत नै पर्छन् । जेलमा रहेकाहरूमध्ये अफ्रीकन अमेरिकीको संख्या गोराहरूभन्दा चारगुना बढी छ । त्यस्तै, गोरारूभन्दा हिस्पानिकको संख्या साढे दुई प्रतिशतले बढी छ । सन् २००७ को अन्त्यसम्म ११ मध्ये एक काला युवा अर्थात् ९.२ प्र्रतिशतलाई सुधार निगरानीअन्तर्गत राखिएको छ । समग्रमा सुधारात्मक नियन्त्रणअन्तर्गत रहेका बन्दीहरूमध्ये महिलाभन्दा पुरुषको संख्या पाँचगुना बढी छ । तर, बन्दी महिलाको संख्या पनि निरन्तर बढ्दै गएको अध्ययनले देखाएको छ । स्न् २००८ मा मात्र अमेरिकाले यसमा ५२ बिलियन डलर खर्च गरेको थियो, जुन सन् १९८८ को भन्दा तीन सय प्रतिशतले बढी हो । राज्यले कारागार तथा निगरानीमा बढाएको बजेट सबैखाले सरकारी सेवामा भन्दा धेरै र छिटो बढाइएको बताइएको छ । कारागार खर्चसँगै स्वास्थ्य सेवाको रकममा दू्रतगतिमा वृद्धि भएको छ । सुधार बजेटको वृद्धिदर प्राथमिक, माध्यमिक, उच्च शिक्षा र अन्य सामाजिक सेवामा भन्दा बढी छ । यसले अमेरिकाको ठूलो धनराशि कारागार सञ्चालनमा खर्च भएको देखाएको छ । गत आर्थिक वर्षमा क्यालिफोर्निया राज्यको ४२ बिलियन डलर बजेटमध्ये करिब १० बिलियन कारागार व्यवस्थाका लागि खर्च भएको जनाइएको छ, जुन राज्यको कुल कोषको ९.३ प्रतिशत हो । राज्य सरकारले विद्यालय, स्वास्थ्य सेवा र गरिबका लागि १५ बिलियन कारागार खर्च कटौती गर्ने प्रस्ताव गरेको छ । केन्टकीमा देशकै सबैभन्दा द्रूतगतिमा कैदीहरूको संख्या वृद्धि भएको छ, जहाँ विगत आठ वर्षमा ५० प्रतिशत संख्या वृद्धि भई २२ हजार पुगेको छ । यही दरमा बन्दीहरूको संख्या बढ्ने हो भने आउँदो दशकमा सो संख्या बढेर ३१ हजारभन्दा बढी हुने अनुमान छ । गत आर्थिक वर्षमा केन्टकीले पाँच सय २१ मिलियन डलर कैदीहरूका लागि मात्र खर्च गरेको छ । मिसिगनमा हरेक २७ मध्ये एकजना राज्यको कारागारमा छन्, जुन समग्रमा केही बढी हो । अगस्टको अन्त्यसम्म आधाजसो बालबालिका राज्यले निर्धारण गरेको गरिबीको रेखामुनि रहेको परिवारमा रहेका छन्, जसमा दुईजना बच्चासहित चारजनाको परिवारले वाषिर्क २१ हजार डलर आम्दानी गर्ने अनुमान गरिएको छ । युवा साक्षरता दर पनि ५० प्रतिशतभन्दा कम छ । साथै, हाईस्कुलका विद्यार्थीहरूले पनि स्नातक उत्तीर्ण गर्दैनन् । डेट्रवाइटको पूर्वी भागमा २२ मध्ये एक युवा बन्दी छन् भने त्यसको पूर्वी राज्यमा १६ मध्ये एक बन्दी रहेको अध्ययनले देखाएको छ । तीनमा पनि सातमध्ये एक युवक कारागार वा निगरानीमा छन् । सन् २००८ मा मिसिगन राज्यले मात्र करिब ३० लाख डलर बन्दीका लागि खर्च गरेको थियो । यस्तै, आर्थिक दुरावस्थाबाट सताइएका युवालाई दोहोरो सजाय गरिन्छ । धेरैभन्दा धेरै मानिसलाई बन्दी बनाइन्छ र सामाजिक समस्यालाई समेत प्रहरी कारबाहीको विषय बनाइन्छ ।

No comments: