News

Mar 11, 2009

जनमत संकलन गर्न भारतीय नम्बरको गाडी प्रयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले करोडौँ रुपैयाँ खर्चेर नयाँ संविधान निर्माणका लागि जनमत संकलन गर्न सभासद्लाई जिल्ला-जिल्लामा खटाएको छ । खटिएका सभासद्को टोलीले सुनसरीमा जनमत संकलन गर्न भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् । संविधानसभा चुनावमा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारले भारतीय गाडी प्रयोग गरेका थिए । त्यतिवेला पनि जनस्तरबाट आलोचना गरिएको थियो । तर, जनमत संकलन गर्न पनि सभासद्ले भारतीय गाडी नै प्रयोग गरेका छन् । त्यो पनि भारतीय व्यापारीको गाडी उनीहरूले चलाएका हुन् । सुनसरीमा खटिएको एमालेका सभासद् भीम आचार्य अध्यक्ष रहेको चार नम्बर टोलीले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको हो । टोलीले भारतको बिहार राज्यमा द्यच्-ज्ञज्ञम्रडज्ञण्ट दर्ता नम्बरको सेतो प्लेटको कलेजी रंगको टाटा सुमो प्रयोग गर्दै आएको छ । सोही गाडीमा चढेर सभासद् टोलीले धरान, पाँचकन्या तथा धनकुटाका केही गाविसमा सुझाव संकलन गरिसकेको छ । सो गाडी पाँचजना सभासद्सहित संसदीय सचिवालयका दुई कर्मचारीले प्रयोग गर्दै आएका छन् । सेतो प्लेटको कलेजी रंगको सो टाटा सुमोमा सभासद्हरू, मधेसी जनअधिकार फोरम, सुनसरी क्षेत्र नं. ५ की सभासद् सवितादेवी यादव, कांग्रेसका सभासद् तीर्थराम डंगोल, एमालेका सभासद् भीम आचार्य, माओवादीका किरणकुमार राई, चुरेभावरका केशव मैनाली, संसदीय सचिवालयका कर्मचारी डम्बरुप्रसाद निरौला र अर्का एक कर्मचारीले प्रयोग गर्दै आएका छन् । भारतीय नम्बर प्लेटको सो गाडी भारत जोगवनीका व्यापारी मुन्ना भगतको रहेको र दैनिक एक हजार भारतीय रुपैयाँमा रिजर्भ गरी ल्याइएको चालक अफताब आलमले बताए । उनका अनुसार तेल हालेर दैनिक एक हजार भारतीय रुपैयाँ दिने सर्तमा एक साताका लागि गाडी रिजर्भमा ल्याइएको हो । सो गाडी फोरमका सभासद् शिवनारायण उरावले व्यवस्था गरिदिएको संसद् सचिवालयका कर्मचारी तथा टोलीमा सहभागी डम्बरुप्रसाद निरौलाले बताएका छन् । १६ सभासद्, पाँच कर्मचारीसहितको टोलीले १६ फागुनदेखि सुनसरीमा सुझाव संकलन गरिरहेको छ ।

No comments: