News

Oct 25, 2011

सरकारी पात्रोमा नेपाल संवत् उल्लेख गर्ने सरकारको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८,राष्ट्रको नामबाट प्रचलनमा रहेको नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न यसलाई सरकारी पात्रोमा उल्लेख गर्ने र एउटा कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद्‍को आजको बैठकले गरेको छ। तीन वर्षअघि सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय संवत् भएको घोषणा गरेको थियो। अघिल्ला सरकारहरुका पालामा पनि यस संवत्‌लाई व्यवहारमा कार्यान्वयन गर्न अध्ययन गर्ने भन्दै पटक पटक समिति गठन भइसकेका छन्। सरकारले यस पटक वरिष्ठ बाम वुद्धिजीवी तथा नेपालभाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधरको संयोजकत्वमा कार्यदल गठन गरेको हो। नेपाल संवत् अध्ययन तथा सुझाव आयोगका सदस्यमा हरिनारायण मल्ल र कुमार योञ्जन रहेका छन्। कार्यदललाई नेपाल संवत्‌लाई कसरी व्यवहारिक बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको बैठकपछि उपप्रधान तथा परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए। नयाँ नेपाल संवत् बिहीबारदेखि सुरु हुँदैछ। बैठकले नेपाल संवत् प्रचलनमा ल्याउने शंखधर साख्वाको नाममा शंखधर साख्वा राष्ट्रिय प्रतिष्ठान गठन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ। युवा स्वरोजगार कार्यक्रमको उपाध्यक्षमा डा. पुण्य रेग्मीलाई नियुक्त गर्ने निर्णय आजको बैठकले गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित समितिका पदाधिकारीलाई लुम्बिनीको विकासका लागि राष्ट्रसंघसहितको विदेशी सहयोग जुटाउन पहल गर्न अमेरिका भ्रमणमा लैजाने निर्णय पनि बैठकले गरेको छ । यसैगरी साउदीका युवराज सुल्तान अब्दुल अजिल अल साउदको अन्त्येष्टिमा वनमन्त्री मो. वकिल मुसलमानलाई पठाउने निर्णय सरकारले गरेको छ।

No comments: