News

Oct 14, 2011

भुटानी राजाको बिहे साधारण केटीसँग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थिम्पु आश्विन २७ - सर्वसाधारणले लामो समय पर्खेको भव्य समारोहमा भुटानी राजा जिग्मे खेसार नाम्गेल वाङचुकले बिहीबार एक सर्वसाधारण परिवारका केटीसँग बिहे गरे । बौद्ध परम्परा अनुसार पुरानो राजधानी पुनखामास्थित गुम्बामा भएको विवाहमा ३१ वषर्ीय राजाले गद्दीबाट ओर्लेर आफूभन्दा १० वर्ष कान्छी जेत्सुन पेमालाई परम्परागत शैलीको बुट्टेदार मुकुट पहिराइदिए । प्रायः भावुक देखिएकी जेत्सुन मुकुट पहिरिएपछि मुस्कुराइन् । भिक्षुहरू मन्त्रोचारण गर्दै थिए । जिग्मे आफ्नै ठाउँ फर्किए । नयाँ रानीको रूपमा जेत्सुन गद्दीमा आसिन भइन् । करिब ७ लाख जनसंख्या भएको यो मुलुकमा राजा जिग्मे लोकपि्रय छन् । राज पुरोहितले तय गरे अनुरूप बिहान ८.२० बजे सुरु भएको समारोहको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । दुलहा दुलहीको तस्बिर सहित पोस्टर, सजाउने प्लेट र ब्याज निकालिएको थियो, जुन देशभर सहज उपलब्ध थियो । गायक गायिकाले विशेष गीत गाए । स्कुले केटाकेटीले नयाँ रानीलाई चन्द्रमा, सुन्दर नायिका र कमलको फूलको उपमा दिँदै कविता रचेका थिए ।
अन्य राष्ट्रप्रमुख, राजपरिवार र सेलिब्रेटी थिएनन् । 'पारिवारिक मामिलामा सीमित राख्न खोजेका हौं,' भुटानका सूचना अधिकारी किन्लेभ दोर्जीले भने । राजा र उनका बाबु जिग्मे सिंगे वाङचुक (पूर्वराजा) पुनखाको भव्य गुम्बाको पवित्र कोठामा प्रवेश गरेपछि विवाह औपचारिक रूपमा सुरु भयो । जुन अहिलेको राजधानी थिम्पुबाट ३ घन्टाको मोटरबाटोबाट पुगिन्छ । चार पत्नीसाथ पुगेका पूर्व राजाले पञ्चरंगी स्कार्फ बुहारीलाई दिए । मुख्य पुरोहितले दीर्घायु, अन्य कामना गर्दै जोडीलाई ऐना, दही, दुबो र शंख उपहार दिए । करिब एक घन्टाको वैवाहिक विधिपछि उनीहरू सर्वसाधारणसँग भलाकुसारी गर्न सँगसँगै थिए । 'उनी जहाँ गए पनि उनी (जेत्सुन) को हात समातेर हिँड्छन्, अबको युवाले पनि त्यस्तै गर्न सुरु गरिरहेका छन्,' १६ वषर्ीया स्कुले किशोरी जुर्मे छोदेनले भनिन् । महिनौंसम्म देशका दुर्गम गाउँमा रहने राजा जिग्मे कहिलेकाहीँ जेत्सुनको हात समातेर हिँडेरै त्यहाँ पुग्ने गरेका थिए । 'मैले सही व्यक्तिसँग विवाह गरें,' राजा जिग्मेले विवाहपछि प्रतिक्रिया दिए, 'मलाई उनीप्रति गर्व छ, उनी राम्री र इमान्दार छिन्, उनी र मेरो साझा कुरा छ, कलाप्रति माया र मोह ।' तीन वर्षअघि राजा बनेका उनी सय वर्षयता शासन गर्नेमध्ये ५ औं राजा हुन् । विमान चालककी छोरीलाई उनले सानैमा चिनेका थिए । देशभर विवाह उत्सव तीन दिन मनाइने भएको छ ।

No comments: