लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २०- स्वेच्छिक अवकाश रोज्ने माओवादी लडाकुलाई चेक वितरण गर्ने कार्यक्रम सुरु भएको छ। अनमिनले प्रमाणीकरण गरेकै तहमा कुरा मिलेपछि चेक वितरण कार्य सुरु भएको हो। सहायक कमान्डर उदयबहादुर चलाउनेबाट सुरु भएको चेक वितरण कार्यक्रम जारी छ। सुरुमा चेक लिनेमा तल्लो कमान्डर गणेशबहादुर श्रेष्ठ, गोकुल बजागाईं, दिल्लीप्रसाद डोटेल र नविन जिरेल छन्। सहायक कमान्डर चलाउनेले चार लाख, श्रेष्ठ, बजागाई र डोटेलले साढे दुई लाख र जिरेलले तीन लाखको चेक बुझेका छन्। यसअघि चेक लिँदा भर्नुपर्ने फाराममा अनमिनले उल्लेख गरेको तह उल्लेख गर्ने वा लडाकुको आन्तरिक तह उल्लेख गर्ने भन्नेमा विवाद उत्पन्न भएपछि चेक हस्तान्तरण नगरी प्रक्रिया नै अवरुद्ध भएको थियो। यो दुई किस्तामध्येको आधा हो। बाँकी अर्को किस्तामा दिइनेछ। अनमिनले प्रमाणीकरण गर्दा एउटा तह उल्लेख छ भने माओवादीको आन्तरिक अभिलेखमा चाहिँ उनीहरुको तह अर्कै उल्लेख छ। लडाकुहरुले अनमिनले उल्लेख गरेको तहलाई मान्यता नदिई आन्तरिक तहलाई मान्यता दिनुपर्ने माग राखेपछि चेक वितरण प्रक्रिया अवरुद्ध भएको थियो। अनमिनको प्रमाणलाई आधार मानेमा उनीहरुले कम रकम पाउँछन् भने आन्तरिकलाई मान्यता दिएमा बढी रकम पाउनेछन्। यही कारण विवाद भएको थियो। विवाद कसरी सुल्झाउने भन्नेबारे सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्मा, माओवादी शिविरका डिभिजन कमाण्डर धनबहादुर मास्की मगरलगायत् सम्बन्धित पक्षबीचको छलफलले अनमिनकै प्रमाणीकरणका आधारमा चेक वितरण गर्ने निर्णय गरेको हो।
यसरी फरक पर्दा एक लाख रुपियाँ फरक पर्छ। फरक पर्ने तहहरुमा ब्रिगेड कमाण्डरबाट बढुवा भएर डिभिजन सहकमाण्डर, बटालियन कमाण्डरबाट बढुवा भएर ब्रिगेड सहकमाण्डर र कम्पनी कमाण्डरबाट बढुवा भएर बटालियन सहकमाण्डर छन्। डिभिजन कमाण्डर र सहकमाण्डरले ८ लाख, ब्रिगेड कमाण्डर र सहकमाण्डरले ७ लाख, बटालियन कमाण्डर र सहकमाण्डरले ६ लाख र कम्पनी कमाण्डरमुनिका सबैले ५ लाख पाउँछन् ।
पहिलो प्रमाणीकरणमा दर्ता हुँदा उल्लेख गरिएको तह र पछि बढुवा भएको तहबीच फरक परेपछि यो विवाद उत्पन्न भएको हो। लडाकुहरुले पछिल्लो तहअनुसार रकम पाउनुपर्ने दाबी गरेका थिए तर सचिवालयले भने पुरानै अभिलेखलाई मान्ने यसअघि नै सार्वजनिक गरिसकेको थियो।
No comments:
Post a Comment