News

Mar 18, 2013

अन्तरिम चुनावी मन्त्रिपरिषद् आज विस्तार हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई बुझाएको पूर्वप्रशासकको सूचीअनुसार मन्त्रिपरिषद विस्तार हुन लागेको हो । मन्त्री नियुक्तिका लागि प्रचण्डले बुझाएको सूचीमा रामकुमार श्रेष्ठ, विजया केसी, रामेश्वर खनाल, बालानन्द पौडेल, डा. सुधा शर्मा, उदय नेपाली, उमाकान्तझा लगायतको नाम रहेको बताइएको छ । एकिकृत माओवादीका तर्फबाट रामकुमार, विजया र रामेश्वरको नाम सिफारिस गरिएको हो भने एमालेका तर्फबाट बालानन्द र उदयलाई सिफारिस गरिएको हो । त्यस्तै कांग्रेसका तर्फबाट श्रीकान्त र डा. सुधालाई सिफारिस गरिएको र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उमाकान्तलाई सिफारिस गरिएको हो । यी सिफारिस गरिएका नाम हेरफेर हुन सक्ने बताइएको छ । प्रत्येक मन्त्रीलाई दुईदुईवटा मन्त्रालयको जिम्मेवारी दिई शपथग्रहण गराइने बताइएको छ । हाल अध्यक्ष रेग्मीले अर्थ, उद्योग, उर्जा, कृषि विकास, भूमिसुधार तथा व्यवस्था, भौतिक योजना पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा बन तथा भू-संरक्षण, वाणिज्य तथा आपूर्तिलगायतका २२ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

No comments: