News

Mar 31, 2013

सिक्किमका मुख्यमन्त्रीले गरे १९५० को सन्धीको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ चैत,सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपाल-भारतवीच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धीको आलोचना गरेका छन् । सिक्किमको गान्तोकमा आयोजित साहित्यिक कार्यक्रम
मा बोल्दै मुख्यमन्त्री चाम्लिङले १९५० को सन्धीले भारतमा रहेका नेपालीमाथि अन्याय भएको बताएका छन् । सिक्किमबाट प्रकाशित हिमालय दर्पण नेपाली दैनिकले शनिबार आफ्नो मुख्य समाचारमा लेखेको छ- ‘मुख्यमन्त्री चाम्लिङले सन् १९५०को सन्धिले भारतीय नेपालीहरुलाई आघात पुर्याएको बताउँदै सिक्किम, दार्जिलिङ, असम, भाक्सु तथा देशका विभिन्न प्रान्तमा छरिएर बस्दै आएका भारतीय नेपालीहरुको अस्थित्वलाई संकटमा पार्ने यस गम्भीर विषयमा बुद्धिजीवीहरुलाई चिन्तन गर्न सुझाव दिएका छन् ।’ सन्धीको धारा ७ ले नेपाल र भारतका नागरिकहरु एक अर्काका मुलुकमा गएर व्यापार व्यवसाय गर्न र जागिर खान पाउने प्रावधानले भारतका खाटी नेपालीलाई आघात पुगेको चाम्लिङलाई उधृत गर्दै हिमालय दर्पणले लेखेको छ । दर्पण लेख्छ- ‘धारा ७ अनुसार नेपाल सरकार र भारत सरकारले आफ्ना राज्यक्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार वाणिज्यमा भाग लिन, हिँडडुल गर्न र अरु यस्तै प्रकारका विशेष अधिकारहरुका विषयमा पारस्परिक तौरले समान अधिकार दिन सहमति छन् ।’ भारतीय पत्रिकाका अनुसार यसअघि गोर्खाल्याण आन्दोलनका बेला सुवास घिसिङले पनि १९५० को सन्धीको धारा ७ खारेज हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री चाम्लिङले सिक्किममा नेपालीहरुको ठूलो जनसंख्या रहेको भन्दै यसबाट जातीय एवं राष्ट्रियताको समस्याले सिक्किमेहरु पिरोलिएको बताएका छन् ।’हामी नेपालीभाषी भारतीय हौं । हाम्रो जातिमाथि आइपरेको संकट, आरोप र आक्षेपमाथि हामीले विरोध, खण्डन र भत्सर्नाको रेकर्ड गराउन सक्नुपर्छ ।’ दर्पण आफ्नो मुख्य समाचारमा लेख्छ-’चाम्लिङ्गको यस सम्बोधनले भारतीय नेपाली वा भारतीय गोर्खा भन्ने विवादमा पुनः हावा भर्ने काम भएको छ । नेपाली भन्नाले नेपालको राष्ट्रियता बुझ्ने गरेको तथा भारतीय नेपालीहरुलाई पनि नेपाल नागरिक नेपालीहरुसँग मुछेर हेर्ने गरिएको बताउँदै तिनले विवादलाई पुनः उठाएका छन् ।’ आफ्नो छोरामार्फत् नेपालको क्यासिनोमा लागानी गर्न सहमत देखिएका र यही सिलसिलामा केही महिनाअघि नेपाल भ्रमणसमेत गरेका मुख्यमन्त्री चाम्लिङले सिक्किम महाविद्यालयकी नेपाली विभाग प्रमुख डा. पुष्पा शर्माको ‘सिक्किममा नेपाली कविता’ नामक ६ सय ६१ पृष्ठको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार १९५० को सन्धीको आलोचना गर्न त्यहाँका बुद्धिजीवीहरुसँग आग्रह गरेका हुन् ।

No comments: