News

May 7, 2012

फ्रान्समा सत्रवर्षपछि समाजवादी राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख २५ - फ्रान्सको राष्ट्रपति पदमा समाजवादी विचारधाराका फ्राँस्वा हल्यान्ड विजयी भएपछि विश्वका सञ्चारमाध्यमले उनका आगामी दिनका चुनौतीहरुलाई युरोप क्षेत्रको आर्थिक मन्दीको विषयसँग जोडेका छन् । फ्रान्समा भएको राष्ट्रपति पदको कडा प्रतिस्पर्धामा उनले वर्तमान राष्ट्रपति निकोलस सार्कोजीलाई पछि पारेका हुन् । यो जितसँगै फ्रान्समा विगत करिब दुई दशकपछि पहिलो पटक समाजवादी विचारका उमेद्‌वार राष्ट्रपति बनेका हुन् । प्राप्त मतअनुसार विजयी उमेद्‌वार हल्याण्डले ५१.६७ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी उनका प्रतिद्वन्द्वी एवम् वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले भने ४८.३३ मत प्राप्त गरे । यो जितसँगै उनी सत्रवर्षपछि समाजवादी दलका तर्फबाट पहिलो राष्ट्रपति बनेका छन् । यसअघि सो विचारका फ्राँस्वा मिटररान्डले सन् १९९५ मा राष्ट्रपतिबाट बाहिरिएका थिए । यो दोस्रो चरणको निर्वाचन हो । पहिलो चरणमा उनीहरु दुवै जनाले स्पष्ट बहुमत अथवा पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेकोले आइतबार दोस्रो चरणको मतदान भएको हो । यसअघि पनि अप्रिल २२ मा भएको निर्वाचनमा होल्याण्ड नै अगाडि थिए । उनले २८ प्रतिशत र उनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले २७ प्रतिशत मत प्राप्त गरेका थिए । आफ्नो विजयपछि उनले पेरिसमा रहेका हजारौं समर्थकलाई सम्बोधन गर्दै युरोपमा लामो समयपछि त्यहाँका नागरिकले परिवर्तन खोजेकोले यो परिणाम निस्किएको प्रतिक्रिया दिए । युरोपेली क्षेत्रमा नै सुरु भएको आर्थिक मन्दीको विकल्पको खोजीका रुपमा नागरिकले आफूलाई रोजेको प्रतिक्रिया पनि उनले दिए । उनका समर्थकरुले पनि सो अवस्थाको सुधारका लागि उहाँलाई बधाइ दिइरहेका बताइएको छ । आइतबार नै मतदान केन्द्र सुरु हुना साथै अभिमत सर्वेक्षणहरुले निर्वाचनमा हल्यान्डले विजय हासिल गर्ने अवस्था देखिएको बताएका थिए । यसो भए पनि वर्तमान राष्ट्रपति सार्कोजीले मतभिन्नताको प्रतिशत कम बनाउने सङ्केत दिएका थिए । आफ्ना समर्थकलाई उनले भने– 'यो हाम्रो युरोपेली क्षेत्रका लागि सम्पन्नता, समृद्धि, रोजगारी र भविश्यको खोजीको अभियान थियो र आजबाट त्यसको सुरुवात पनि भएको छ ।'मत परिणाम आएपछि वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले आफ्नो हारलाई स्वीकारे । उनले छोटो प्रतिक्रिया दिँदै फ्रान्सको राष्ट्रपतिमा हल्याण्ड विजयी भएको र उनको सम्मान हुनुपर्ने बताए । उनका केही समर्थकहरुले वर्तमान राष्ट्रपति सार्कोजीले राजनीतिबाट अलग रहने जानकारी दिए । तर पनि उनले नै भने यस विषयमा कुनै पनि प्रतिक्रिया नदिएको पनि समाचारमा जनाइएको छ । सोमबारजका विश्वका अखबारले हल्याण्डको जितलाई हालको युरोपको आर्थिक अवस्थासँगै विश्लेषण गरेर आगामी दिनमा उहाँले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि केही गर्न सक्नुहोला त भनेर समाचार लेखेका छन् ।

No comments: