News

May 9, 2012

बेपत्ताको खोजी गर्न ६ सय सुरक्षाफौज परिचालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 पोखरा, वैशाख २७ - सेना, सशस्त्र र नेपाल प्रहरीको ६ सय संयुक्त सुरक्षाफौजले कास्कीको उत्तरी गाविस सार्दीखोलामा क्याप खडा गरी सेतीको बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी राखेका छन्। उनीहरुलाई दिनदिनै सेतीको बगर र सम्भावित ठाउँहरुमा परिचालन गरिएको छ। सेतीले बगाएर बेपत्ता बनाएका करिब चारदर्जन व्यक्तिको खोजीका लागि सार्दीखोलाको खारापानीमा क्याप खडा गरि नेपाली सेनाका २ सय १५, नेपाल प्रहरीका १ सय ९० र सशस्त्र प्रहरीका २ सय ८ सुरक्षाकर्मी बसेका छन्। सुरक्षाफौजले खोजीका क्रममा दैनिक ४-५ वटा शव फेला पार्दै आएको छ। यस क्रममा मंगलबार थप ५ वटा शव फेला परेको सुरक्षाअधिकारीले बताएका छन्। योसहित गत शनिबार सेती नदीको बाढीले बगाएर मृत्यु हुनेको संख्या २६ पुगेको छ। बाढीमा बगेर बेपत्ता भएका अझै ४३ जनाको खोजी कार्य जारी छ। हालसम्म प्राप्त २६ शवमध्ये १९ को सनाखत भई आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सनाखत हुन बाँकी ७ वटा शव र केही मानव अंग पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन्। सोमबारसम्म १८ शवको सनाखत भएको थियो। मंगलबार भेटिएकामध्ये सार्दीखोला-१ की छेसाङ तामाङको मात्र सनाखत भएको छ भने अन्य चारवटा शव सनाखत हुन नसकेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। मंगलबार सार्दीखोला-१ कस्केरीमा एक महिलाको शव भेटिएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको टोली त्यहाँ पुगेको थियो। उक्त शव भुर्जुङ्गखोलाका नेत्रबहादुर तामाङकी श्रीमती छेसाङ्गको भनी सनाखत भई आफन्तलाई जिम्मा लगाइएको छ। कसेरीमै थप एक महिलाको शव फेला परेको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

No comments: