News

Jan 11, 2013

पत्रकारहरुले मुलुकभर गरे प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पुस २७ - नेपाल पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्र राज थापाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आज मुलुकभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले अनुसन्धान प्रभावित गर्ने गरी दवाब दिएपछि महासंघ सडक संघर्षमा ओर्लिएको हो । दैलेख प्रहरीले थापा हत्यामा संलग्न रहेको अभियोगमा ५ माओवादी कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रधानमन्त्री भट्टराईले यस मुद्दालाई बढाइए शान्ति प्रक्रिया प्रभावित हुने अभिव्यक्ति दिनुका साथै अनुसन्धान प्रक्रिया रोक्नलाई प्रहरीका उच्च अधिकारी तथा महान्यायाधिवक्ता मार्फत स्थानीय निकायलाई दवाब दिएको समाचार सार्वजनिक भएको छ । अनुसन्धानलाई प्रभावित पार्ने प्रधानमन्त्री भट्टराईको अभिव्यक्ति तथा कामको बिरोध गर्दै महासंघ केन्द्रको आह्वानमा मुलुकभरका शाखाले प्रदर्शन गरेको हो । राजधानीमा प्रर्दशनी मार्गबाट प्रदर्शन गरिएको थियो । महासंघले पत्रकार कृष्ण सेन इच्छुक, डेकेन्द्र थापा देखि झापाका पत्रकार यादव पौडेलसम्मका हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । महासंघले न्यायीक आयोगको गठन गरी दोषीहरुलाई कानुनी कारवाहीको दायरामा ल्यानुपर्ने माग गर्दै आएको छ । अहिलेसम्म ३३ जना पत्रकार मारिएको र ३ जना अहिलेसम्म वेपत्ता रहेको महासंघको तथ्यांकमा छ । माओवादीले ०६१ असार १२ गते अपहरण गरी पत्रकार थापाको साउन २७ गते हत्या गरेको थियो । पक्राउ परेका अभियुक्तले हत्या गरेको स्विकार गरिसकेको छन् ।

No comments: