News

Apr 9, 2008

गायक महेश शिल्पकारको पहिलो गीतिसंग्रह आहृवानको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नव गायक महेश शिल्पकारको पहिलो प्रस्तुति स्वरुपको गीती एलबम ‘आहृवान’को हिजो बेलुकी जोर्डनस्थित कँगन रेस्टुरेन्टमा सँगीतमय वातावरणमा विमोचन
गरिएको छ । आदिवासी गीतकार समाज हङकङको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत केशव प्रसाद भट्टराईको हातबाट गीती एलबम आहृवान विमोचित भएको थियो । आदिवासी गीतकार समाज हङकङको आफ्नो औपचारिक गठनपछिको यो पहिलो कार्यक्रम थियो । समाजका सचिव अशोक राईबाट सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले गरेका थिए । विशेष अतिथिमा हङकङ नेपाली महासँघका नव निर्वाचित अध्यक्ष हेम लिम्बू र अन्य अतिथिहरुमा यनआरयन एसिया प्यासिफिक सँयोजक गणेश इजम, आदिवासी जनजाति महासँघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, श्रष्टा अतिथिमा सँगीतकार दिनेश सुब्बा, सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठ र गीतकार रामकृष्ण बान्तवासहित हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टँक सम्वाहाम्फे, अनेसास हङकङ च्याप्टरका अध्यक्ष पसन तमू, सृसासका सँस्थापक सचिव नरेश सुनुवार आदि थिए । सृसासका अध्यक्ष हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । आदिवासी गीतकार समाजले भविष्यमा फैलिएर जाओस भन्दै उपस्थिति अतिथिहरुलाई स्वागत गरेपछि अलि बेग्लै किसिमले पहिले प्रमुख अतिथि महावाणिज्यदूतको मन्तव्यको पालो राखिएको थियो । प्रमुख अतिथिपछि लगत्तै विशेष अतिथि महासँघका अध्यक्ष, यनआरयनको एसिया प्यासिफिक सँयोजक, जनजाति महासँघका अध्यक्ष, सँगीतकार सुब्बा, गीतकार बान्तवा र गायक महेश शिल्पकारले आआफ्ना मन्तव्यहरु दिएका थिए । उक्त औपचारिक कार्यक्रमको विर्सजन गर्ने क्रममा सभाका अध्यक्ष प्रदीप कन्दङवाले आदिवासी गीतकार समाज, हङकङको बारेमा छोटो चर्चा गर्दै एलबम आहृवान एउटा राम्रो तथा श्रवणीय एलबम भएको बताएका थिए । सम्पूर्ण वक्ताहरुले गायक शिल्पकारलाई वधाइ दिई भविष्यमा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
गीती एलबमको विमोचनको उक्त कार्यक्रममा सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठले प्रत्यक्ष साँगीतिक कार्यक्रम सञ्चालन गरेका थिए । उक्त चरणमा विभिन्न गीतहरु नागेन्द्र, महेशबाट गाइएका थिए । एलबम आहृवानमा नागेन्द्र श्रेष्ठबाट ७ वटा, दिनेश सुब्बाबाट २ वटा र न्हू बज्राचार्यबाट २ वटा गीतहरुमा सँगीत भरिएको छ । गीतकार रामकृष्ण बान्तोवाका ६ वटा, भूपेन्द्र खड्काका ३ वटा र राई चन्द्र दुमीका एउटा गीतमा शब्दहरु रहेका छन् ।
कार्यक्रम दिइएको समयभन्दा लगभग दुर्इ घण्टा ढिलो शुरु भएको भए पनि कार्यक्रम विहानीको ०४ बजेसम्म चलेको थियो । अनौपचारिक चरणमा विभिन्न कविहरुले कविता वाचन पनि गरेका थिए ।

No comments: