News

Sep 10, 2008

अधिकार उल्लंघनका उजुरी पर्ने क्रम घट्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको तुलनामा यो वर्षको सुरुको चार महिनामा आयोगमा मानवअधिकार उल्लङ्घनका उजुरी पर्ने क्रम घटेको जनाएको छ । यो वर्ष वैशाखमा १२१, जेठमा ९६ वटा र असारमा ९० वटा र साउनमा ६५ वटामात्र उजुरी आयोगमा दर्ता भएको बताउँदै आयोगका प्रवक्ता गौरी प्रधानले गत वर्ष असारमा १६३ र साउनमा १६२ वटा उजुरी दर्ता भएको जानकारी दिनुभएको छ ।साउन महिना सबैभन्दा बढी अर्थात १३ वटा उजुरीहरू पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा दर्ता भएको थियो भने केन्द्रीय कार्यालयमा १२, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल कार्यालयमा १०/१०, सुदूरपश्चिमाञ्चल कार्यालयमा दुइवटा मात्र उजुरी दर्ता भएका थिए । यसैगरी जनकपुर सम्पर्क कार्यालयमा पाँच, बुटवलमा ११ र जुम्लामा दुइवटा उजुरी दर्ता भएको थियो भने खोटाङमा गत महिना कुनै उजुरी दर्ता नभएको प्रवक्ता प्रधानले बताउनुभयो । विषयगत आधारमा गत साउनमा सबैभन्दा बढी अर्थात् १० वटा उजुरी दुर्व्यवहारसम्बन्धी परेका छन् । त्यस्तो दुर्व्यवहारगर्नेमा राजनीतिक दलका भातृसङ्गठन खासगरी युथफोर्स अग्रपंक्तिमा रहेको आयोगले जनाएको छ ।गत महिनामा युथफोर्सबाट छ, वाइसीएलबाट दुइ र सरकारी कर्मचारीबाट एक र अन्यबाट एक घटना भएका छन् । द्वन्द्वकालमा सुरक्षाकर्मीबाट भएकाहत्यासम्बन्धी तीनवटा उजुरी दर्ता भएका छन् । यसैगरी द्वन्द्वकालमै सुरक्षाकर्मीले बेपत्ता पारेकोसम्बन्धी एक उजुरी दर्ता भएको छ । माओवादी कार्यकर्ताहरूले अपहरण गरेको भन्ने सम्बन्धी तीन उजुरी र सुरक्षाकर्मीले बेपत्ता पारेकोसम्बन्धी एक समेत गरी चारवटा उजुरी आयोगमा दर्ता भएको बताइएको छ ।आयोगका प्रवक्ता प्रधानले द्वन्द्वोत्तर कालमा तीव्र राजनीतिक रूपान्तरण तथा राज्य र गैरराज्य पक्षबाट हुने मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यून हुँदै गएकाले आयोगमा उजुरी दर्ताको क्रम घटेको बताउनुभयो । उजुरीको दर्ता क्रमलाई नियाल्दा बदलिंदो राजनीतिक पृष्ठभूमिमा शान्तिसुरक्षा र मानवअधिकार अवस्थामा केही सुधार आएको अनुभव गर्न सकिने अवस्था रहको प्रवक्ता प्रधानले बताउनुभयो ।

No comments: