News

Sep 25, 2008

बजेटले न्यायपूर्ण समाज र समुन्नत नेपाल बनाउने - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले नयाँ नेपाल निर्माणका लागि केन्द्रित भएर तयार गरिएको चालु आर्थिक वर्षको बजेटले न्यायपूर्ण समाज र समुन्नत नेपाल बनाउनेतर्फ आधारको कार्य गर्ने बताउनुभएको छ । व्यवस्थापिका संसदको बैठकमा बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अथमन्त्रीले बजेटको आकार बृद्धिका कारण मूल्यवृद्धि हुने र आगामी सरकारलाई अप्ठेरो स्थिति आउँछ भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो ।बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम रहेको, आन्तरिक ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपात २ दशमलव ७ रहेको, राजस्व असुलीको स्थिति सन्तोषजनक रहेको तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर कमी आइरहेकाले मुलुकले धान्नै नसक्ने गरी मूल्यवृद्धि नहुने बताउनुभयो ।अर्थमन्त्री डा. भट्टराइले ग्रामीण क्षेत्रमा बजेटको ठूलो हिस्सा प्रवाहित हुन लागेकाले यसबाट विगतदेखि निरन्तर चलिरहेको अमौद्रिक अर्थतन्त्रलाई मौद्रिकरूपमा रूपान्तरण गरिरहेको बताउनुभयो । बजेटप्रति प्रतिपक्षी दलबाट अभिव्यक्त भइरहेका नकारात्मक टिप्पणी र आलोचनाप्रति नम्रभाषामा कटाक्ष गर्दै अर्थमन्त्रीले भन्नुभयो- हामीले हाम्रो कालोचश्मा फेरौं, नेपालले विगतमा लिएको अर्थनीति बजार कट्टरतावादको सिद्धान्तमा आधारित थियो, अब त्यसलाई त्याग्न म आग्रह गर्दछु ।उहाँले सार्वजनिक निजी साझेदारीका आधारमा प्रचलित सिद्धान्तलाई स्वीकार गरेर ठूला संरचनाको प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउँदै त्यस्ता संरचनालाई सरकारले नियन्त्रण गर्दैछ भन्ने भ्रम त्याग्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्ड र अन्य समिति मूलतः निजी क्षेत्रलाई आकर्षित गरी सार्वजनिक निजी क्षेत्रबाट व्यापक लगानी भित्र्याउने क्रममा देखिन सक्ने बाधाव्यवधान हटाउन गठन गरिएको स्पष्ट गर्दै मन्त्री डा.भट्टराइले उक्त समितिले विगतदेखि नै क्रियाशील समितिलाई प्रभावित नगर्ने बताउनुभयो ।

No comments: