News

Sep 7, 2008

६ विमान कम्पनी उडान बढाउने तयारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं, भदौ २२ - प्रमुख पर्यटकीय याममा नेपाल आउन टिकटको माग बढेपछि अन्तराष्ट्रिय विमान कम्पनीहरूले उडान थपेका छन् । नेपाल आउन होटल बुक गरेर पनि हवाई टिकट नपाएका यात्रुलाई लक्षित गर्दै ६ वटा विमान कम्पनीले यस्तो तयारी गरेका हुन् । सिल्क एयर, कोरियन एयर र ड्रागन एयरले उडान थप गर्ने घोषणा गरेका छन् भने थाई एयरवेज, गल्फ एयर र कतार एयरवेज प्रत्येकले साताको तीन उडान बढाउन अनुमति माग्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएका छन् । सिंगापुरबाट नेपालमा सातको तीन उडान गर्दै आएको सिल्क एयरले अक्टुबरदेखि दोब्बर बनाउने भएको छ । 'टिकटको माग आएकाले तीन उडानबाट बढाएर अक्टुबरभित्र ६ पुर्‍याइने छ,' सिल्क एयरका काठमाडौं मेनेजर जोसुवा गणेशनले भने, 'सेप्टेम्बर ४ देखि ४, अक्टुबर १५ देखि ५ र अक्टुबर २७ देखि ६ वटा उडान हुनेछ ।' सिंगापुर एयरलाइन्सअर्न्तर्गतको यो कम्पनीले अस्ट्रेलिया, जापान, अमेरिका लगायतमा यात्रु ओसार पसार गर्छ ।
ड्रयागन र कोरियन एयरले पनि साताको एक-एक उडान थप्न लागेका हुन् । ड्रयागन एयरले हङकङबाट साताको तीनबाट बढाएर अक्टुबरदेखि चार पुर्‍याउन लागेको हो । दक्षिण कोरियाको इन्चेन मानस्थलबाट सीधा काठमाडौं उडान गर्ने कोरियन एयरले पनि एउटा उडान थप्न लागेको कम्पनीकी मार्केटिङ मेनेजर सविना वज्राचार्यले जानकारी दिइन् । 'अक्टुबर तेस्रोसातादेखि साताको दुइ उडान हुने छ,' उनले भनिन्, 'बार भने तय हुनेछ ।' थाई एयरले नेपालसंगको हवाई सेवा सम्झौताले तोकेभन्दा बढी उडान गर्न नसक्ने भएपछि अतिरिक्त उडान गर्न अस्थायी अनुमति (टीओपी) मागेको छ । 'ठूलो जहाज ल्याउन विमानस्थलले गर्दा असम्भव छ तर माग उच्च छ,' थाईका एक अधिकारीले भने । नेपाल र थाईल्यान्डबीचको हवाई सेवा सम्झौताअनुसार प्रत्येक मुलुकबाट साताको १० उडान गर्नमात्र हुन सक्छ । थाईले सात गरिरहेको छ भने तीन उडान अनुमति ओरिएन्ट थाईले लिएको छ । मध्यपूर्वमा काम गरिरहेका नेपालीहरू दसैं-तिहारका लागि आउने भएकाले पनि कतार र गल्फ एयरमा टिकटको माग अझ बढी छ । यी दुवैले साताको ११ वटाबाट बढाएर उडान संख्या १४ पुर्‍याउन मन्त्रालयमा आवेदन दिएका छन् । 'उडान बढाउने घोषणा गर्न पर्यटन मन्त्रालयको अनुमतिको पर्खाइमा छौं,' कतार एयरवेजका डिस्टि्रक्ट सेल्स मेनेजर जेपी नायरले कान्तिपुरलाई भने । 'पर्यटक ल्याउन हवाई सर्म्पर्क अभाव सबैभन्दा ठूलो समस्या भइरहेका बेला सरकारले इच्छुक सबै कम्पनीलाई तत्काल अनुमति दिनुपर्छ' नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट (नाट्टा) का अध्यक्ष रामकाजी कोनेले भने, 'नेपाल एयरलाइन्सले बजार विस्तार गर्न नसकेका पर्यटनका लागि पनि सरकार सहयोगी हुनुपर्छ ।'
हवाई सेवा सम्झौताका कारण उडान बढाउन नसकिएको विमान कम्पनीलाई अस्थायी अनुमति (टीओपी) दिन सकिने पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । 'गतवर्षपनि यस्तै माग आएपछि तीन महिनाका लागि थप उडान अनुमति दिइएको थियो,' उनले भने । मन्त्रालय लामो समय मन्त्रीविहीन भएकाले पनि निर्णय हुन नसकेका उनले बताए । विमान कम्पनीले भने कम्तीमा ६ महिनाका लागि स्विकृति दिनुपर्ने बताउदै आएका छन् ।
नेपाल एयरलाइन्स र कस्मिक एयरसहित १८ वटा अन्तराष्ट्रिय बिमान कम्पनीले नेपालमा उडान गर्छन् । सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा आरोहण गरेपछि बाहिरी विश्वमा चिनिएको नेपालका लागि शरद ऋतु पर्यटक आउने प्रमुख मौसम हो । एक दशकसम्म सशस्त्र द्वन्द्वरत माओवादी सबैभन्दा ठूलो दल भएर सरकारको नेतृत्व गर्ने चर्चासंगै नेपाल आउन पर्यटकको आत्म विश्वास बढेको व्यवसायी बताउछन् । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आएदेखि नै आतिथ्य सत्कार उद्योगमा सुधार सुरु भएको हो । सन् २००७ मा हालसम्मकै सबैभन्दा बढी पाच लाख पर्यटक नेपाल भित्रिएका थिए । सन २००८ को ८ महिनामा पनि हवाई मार्ग भएरमात्र २ लाख २४ हजार पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
बहराइन एयरले पनि उडान गर्ने
बहराइन एयरले पनि नेपालमा उडान सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको छ । सम्बद्ध अधिकृतकाअनुसार बहराइनको नागरिक उड्डयन कार्यलयले बहराइन एयरलाई अनुमति दिन आग्रह गर्दै हालै पत्र पठाएको थियो । 'उडानका बारेमा विस्तृत विवरण पठाउन आग्रह गर्दै जवाफ पठाएका छौं,' उनले भने ।

No comments: