News

Oct 8, 2008

जनादेशअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनआन्दोलनको जनादेशअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधानसभाले नयाँ नेपालको संविधान लेख्नुपर्ने आवश्यकतामा विभिन्न दलका नेताहरूले जोड दिएका छन् । रिपोर्टर्स क्लवले राजधानीमा आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष एवं वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले संघीय लोकतान्त्रिक विधिलाई संस्थागत नगरी जनगणतन्त्रजस्ता विषयमा प्रवेश गर्नु नहुने बताउनुभयो ।तराइमा सशस्त्र द्वन्द्वरत पक्षहरूसँग लोकतान्त्रिक तरिकाबाट वार्ता गर्नुपर्ने आवश्यकता छ भन्दै उहाँले वार्ताका निम्ति सरकारले चाँडै औपचारिक पत्र पठाउने र पत्र पठाएपछि दुवै तर्फबाट विश्वासको वातावरण सिर्जना गरी वार्ता गरिनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले नेपाली जनतालाई नयाँ संविधान चाहिएको र यसको मुलभूतस्वरूप संघीयता र समावेशी हुनुपर्ने बताउनुभयो । नयाँ संविधान लेख्ने कार्यमा सबैले विगतमा देखिएका तीता-मिठा कुरा बिर्सेर एक भइ अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले देशलाई लोकतान्त्रिकरण गर्ने हो भने नेकपा माओवादीले माओवाद र प्रचण्डपथलाई त्याग्नुपर्ने बताउनुभयो । उहाँले माओवादीको आधिकारिक धारणा सार्वजनिक नभइन्जेल एमालेले लिएको जनताको बहुदलीय जनवादमा माओवादीहरू आए भन्न नमिल्ने धारण व्यक्त गर्नुभयो ।नेकपा माओवादीका देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै पार्टी सहमत भए जनगणतन्त्रमा जान सकिने माओवादीको धारणा रहेको बताउनुभयो । नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले कुनै पनि सर्तमा माओवादीको जनगणतन्त्र लाद्ने कार्य कांग्रेसले नमान्ने बताउर्र्दै राष्ट्रिय मेलमिलाप र एकताका आधारमा नयाँ संविधान लेखिनुपर्ने स्पष्ट पार्नुभयो । नेकपा मालेका महासचिव सीपी मैनालीले जनगणतन्त्र अहिलेको आवश्यकता होइन भन्दै नयाँ संविधान निर्माण गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो भन्नुभयो ।

No comments: